राष्ट्रपति निर्वाचनअन्तर्गत आज (फागुन १६ गते, मंगलबार) उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदै छ। आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ । पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ । नेम्वाङलाई भने एमालेबाहेकका दलले खुलेर साथ दिएका छैनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेमकिपाले राष्ट्रपतिमा कुन दलका उम्मेदवारलाई सघाउने भन्ने विषयमा निर्णय लिइसकेका छैनन् ।
उम्मेदवारद्धय भने विभिन्न राजनीतिक दल र शीर्ष नेताहरूलाई भेटेर आफूलाई सघाउन आग्रह गर्दै आएका छन् ।
राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदान स्थल तोकिएको छ। मतदानका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नै २ वटा मतदान केन्द्रहरु हुनेछन्।
राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य ५५० र ७ वटै प्रदेश सभाका सदस्य ३३२ गरी ८८२ मतदाता रहेका छन्।
Discussion about this post