अर्जेन्टिनी फुटबल टोलीका कप्तान तथा फरवार्ड लियोनल मेस्सी २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी बनेका छन्।
पेरिस सेन्ट जर्मेनका मुख्य फरवार्डसमेत रहेका मेस्सीले फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै २०२२ को फिफा वर्ष उत्कृष्ट खेलाडीको उपाधि पाएका हुन्।
३५ वर्षीय मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो। मेस्सीले २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए।
दोस्रोपटक फिफा उत्कृष्ट वर्ष खेलाडी बनेका मेस्सीले यो आफ्ना लागि अचम्मको कुरा भएको बताएका छन्।
उनले भने, ‘यो एक ठूलो वर्ष हो र यहाँ आउनु र यो अवार्ड जित्नु मेरा लागि सम्मानको कुरा हो। मैले लामो समयदेखि आशा गरेको सपना पूरा भयो। धेरै कम मानिसले त्यो पूरा गर्न सक्छन् र म भाग्यशाली छु।’अर्जेन्टिनालाई तेस्रोपटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको उत्कृष्ट पुरुष प्रशिक्षक घोषणा भए। उनले पेप ग्वार्डिओला र कार्लो एन्सेलोटीलाई पछि पार्दै उपाधि जितेका हुन्।
अर्जेन्टिना र एस्टन भिल्लाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर बने। ३० वर्षीय मार्टिनेजले फाइनलमा फ्रान्सविरुद्धको सुटआउट जितसहित चार पेनाल्टी बचाएका थिए।
विजेताहरूको पूर्ण सूची
उत्कृष्ट पुरुष खेलाडीः लियोनल मेस्सी
उत्कृष्ट महिला खेलाडीः एलेक्सिया पुटेलास
उत्कृष्ट पुरुष गोलकिपरः एमिलियानो मार्टिनेज
उत्कृष्ट महिला गोलकिपरः मेरी अरप्स
उत्कृष्ट पुरुष प्रशिक्षकः लियोनेल स्कालोनी
उत्कृष्ट महिला प्रशिक्षकः सरिना विग्म्यान
सर्वश्रेष्ठ पुस्कास अवार्डः मार्सिन ओलेक्सी
उत्कृष्ट फ्यान अवार्डः अर्जेन्टिना फ्यान
उत्कृष्ट फेयर प्ले अवार्डः लुका लोचोसभिली
Discussion about this post