नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा दर्ता मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ।
प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा जनयुद्धमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने भनेर दिएको अभिव्यक्तिका आधारमा पीडित परिवारले उनीविरुद्ध कारबाही माग गर्दै सर्वाेच्चमा रिट निवेदन दर्ता गराएका हुन्।
उक्त रिट सुनुवाइ गर्न आजका लागि पेसी तोकिए पनि आजै सुनुवाइ हुने/नहुने निश्चित भइसकेको छैन।
आज बिहीबार १० बजेपछि गोलाबाट न्यायाधीशको इजलास तोकिने छ। उक्त इजलासले बहस सुनेर आदेश जारी गर्ने छ। उक्त आदेशपछि मात्र प्रधानमन्त्रीविरुद्धको मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुने छ।
सर्वोच्चले सुरुमै रिट खारेज गरेमा भने यो विवादको च्याप्टर क्लोज हुने छ। यदि सर्वोच्चले कारण देखाऊ आदेशसहित लिखित जवाफ मागेमा भने मुद्दा अघि बढ्नेछ। उक्त आदेश भएमा प्रधानमन्त्रीका तर्फबाट लिखित जवाफ पेस गर्नु पर्ने छ।
रिट निवेदनका पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछाप निवासी ज्ञानेन्द्रराज आरणसहित २८ जना छन्।
Discussion about this post