राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेल नेपाली कांग्रेसबाट अलग भएका छन्। उनले पार्टीसँगको संलग्नता त्याग गरेका हुन्।
कांग्रेस वरिष्ठ नेतासमेत रहेका पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।
पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकोले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका छन्।
राष्ट्रपति पौडेलले कांग्रेसको कुनै पनि सांगठनिक संरचनामा नरहने घोषणा गरेर केन्द्रीय कार्यालयमा पत्र पठाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि (सोमबार) शपथ लिने भएका छन्। राष्ट्रपतिको कार्यालय शीतलनिवासले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ।
नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथका लागि शीतलनिवासमा समारोह आयोजना गरिएको खबर प्राप्त भएको उनका सहयोगीहरुले बताएका छन्।
नेपालको संविधानले राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ।
जसअनुसार नयाँ राष्ट्रपतिलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ गराउने छन्।
पौडेल फागुन २५ गते सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका थिए। उनको कार्यकाल ५ वर्षको हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिँदैछ।
Discussion about this post