Khabar Samachar

रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन माग

202
VIEWS

सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन माग गरेका छन् ।

श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछाने नजिकका व्यक्तिले २ करोड रुपैयाँ माग गरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग माग गरेको अडियो आइतबार सार्वजनािक भएको थियो ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले प्रश्न गरे, ‘मन्त्री बन्‍नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । यो भन्दा लज्जाबोध के हुन सक्छ ?’

सांसद श्रेष्ठले सभापति लामिछानेको कोर टिमले रकम माग गर्न लगाएको भनी टेलिफोनमा भनेको उल्लेख गर्दै त्यो कोर टिम भनेको को हो भन्ने प्रश्न गर्दै सांसद गुरुङले उक्त कोर टिमबारे पनि छानबिन हुनुपर्ने बताए ।

प्रतिनिधिसभा सदस्य श्रेष्ठले गरेको कुराकानी, भ्रष्टाचार, कमिसन आदिबारे संसद चुप लागेर बस्न नहुने उल्लेख गर्दै उनले संसदीय छानविन समिति गठनको माग राखे । ‘आजकै दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निश्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु’ गुरुङले भने ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पाँच पटक मन्त्री भएका एक जनाले मन्त्री भनेकै अर्बौं भ्रष्टाचार गर्ने पद भएको भनी आफ्नो स्मरणमा लेखेको उल्लेख गरे ।

सत्ता गठबन्धनकै सांसदले स्वास्थ्य मन्त्री हुन अढाइ करोड रुपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्वजजनिक हुनुले मन्त्री पद भ्रष्टाचार गर्ने पद भएको भनी पूर्वमन्त्रीले लेखेको स्मरण पुष्टि भएको पनि उनको भनाइ छ ।

सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो कि होइन त्यसबारे सत्तारुढ दलका नेताहरुले संसदलाई जवाफ दिनुपर्ने उनको माग छ ।

त्यसअघि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यावसायीसँग दुई करोड माग गरेको सम्बन्धी अडियो प्रकरणलाई पार्टीले गम्भीर रुपमा लिएको बताएका थिए । उनले श्रेष्ठउपर अनुसन्धान सुरु भएको पनि जानकारी गराएका थिए ।

यस घटनाप्रति माफी माग्दै उनले अडियो प्रकरणका सम्बन्धमा तथ्यतथ्य छानबिन हुने बताएका थिए । तर, यस्ता घटना विगतमा पनि भएकाले सबै घटनाहरुको छानविन हुनुपर्ने उनको माग छ ।

‘नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन्’ प्रमुख सचेतक परियारले भनेका छन्, ‘ती सबैको सत्यतथ्य छानबिन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित