नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिने निश्चित भइसकेको टिप्पणी गरेका छन् ।राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले अर्थतन्त्र पूर्णरूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत औंल्याए । एमाले काठमाडौं महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा उनले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएको तर्फ सचेत गराए ।पैसा नभएकै कारण आयातमा कमी आएको देखिएको पनि ओलीले बताए।
‘पूर्ण रूपमा अर्थतन्त्र ओरालो लाग्यो। असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन्। डेढ वर्षभित्र अर्थतन्त्र सही अवस्थामा फर्काउन सकिएन भने देश असफल राष्ट्र बन्छ,’ ओलीले भने, ‘हा हा हुँ हुँ गरेर कुद्नेहरू, दुई/चार ढुंगा हानेर कुद्नेहरू, तिनलाई देशको के मतलब? तिनको समर्थनमा स्टाटस लेखेर हिँड्नेहरूलाई देशको के मतलब? तर तपाईं, हामीले मतलब राख्नुपरेको छ।’उनले खानिजन्य उद्योगहरु, उत्पादनहरु ठप्प प्रायः भएको बताए ।‘आयात कम भएको देखिए पनि भइराखेको छ भन्सार छलेर । तर, भन्सार उठेको छैन । भन्सार, कर, राजस्व वृद्धि हुनुपर्ने ठाउँमा कम भइराखेको छ । तीव्र गतिका साथ अर्थतन्त्र माइनसमा छ । त्यसकारण अर्थतन्त्र संकटमा छ । देश संकटमा छ । यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिदैछ ‘, ओलीले थपे ।
स्थानीय तहमा समपुरक बजेट ५० प्रतिशतभन्दा बढी पठाउन सक्दिन भनेर सरकारले लत्तो छोडिसकेको उनको भनाई थियो ।
Discussion about this post