एसिया कप पुग्ने क्रिकेट खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले नेपालखबरलाई जानकारी दिइन्।
बैठकले मुख्य प्रशिक्षक मोन्टी देसाइलाई पनि रु. ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निमार्णका लागि सरकारले बजेट दिने निर्णय पनि सरकारले गरेको छ। त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन बजेट विनियोजन गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो।
नेपालले मंगलबार भएको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै २१ वर्षपछि एसिया कपमा स्थान बनाएको थियो। पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ।
Discussion about this post