राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन्।
उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने बताए। रफ्त सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यकता पनि औंल्याए।
उनले सरकार बहुमतमा रहेकोले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने बताए। सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको यादवको भनाइ थियो। राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनले बताए।
उनले भने,‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैले हित हुँदैन। र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो। गल्ती कहाँ छ? त्यहाँ सच्याएर अघि बढ्ने बेला हो। र, त्यसका लागि यो गठबन्धनमा हाम्रो पार्टीको धारणा के हो भने अगाडि बढनु पर्छ। सरकार स्थिर भएर काम गर्नुपर्छ। र, जनतालाई डेलिभरी दिनु पर्छ। अब पहिलाको जस्तो भनेर मात्रै हुँदैन, गरेरै देखाउनु पर्छ।’
यादवले थपे, ‘मुलुकलाई सम्भावित संकटबाट जोगाउने महत्वपूर्ण अभिभारा अहिलेको सरकारको रहेको छ। त्यसैले हाम्रो राय पनि सरकारको स्थिरता, राजनीतिक स्थिरता आवश्यक हो।’
अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए। थुप्रिएर रहेको पूँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको भनाइ थियो।
Discussion about this post