धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङकै शैलीमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले थाल्यो श्रमदान अभियान शुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) उक्त नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घ/संस्थासँगको सहकार्यमा शनिबार औपचारिक रूपमा श्रमदान अभियान सुरु गरेको हो।
श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताए। ‘देश आर्थिक सङ्कटमा फस्दै गएको छ। सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन’, उनले भने, ‘जसरी भए पनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो। नगरभित्रका सबै ग्रामीण सडक वर्षा सुरु हुनेबित्तिकै अवरुद्ध हुने गरेका छन्। ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी श्रमदान अभियान थालिएको हो। अभियानमा सबैको साथ र सहयोग अपरिहार्य छ।’
नगरपालिकाले सुरु गरेको श्रमदान अभियानमा उद्योग वाणिज्य सङ्घ, खोटाङ यातायात प्रालि खोटाङ, ट्र्याक्टर तथा टिपर व्यवसायी सङ्घ, टोल विकास समिति, स्थानीय बासिन्दालगायतको सहभागिता छ। ट्र्याक्टर तथा टिपर व्यवसायी सङ्घमा आबद्ध एकजना व्यवसायीले कम्तीमा रु ४० हजार बराबरको श्रमदान उपलब्ध गराउने गरी अभियानमा सहभागी भएका छन्।
श्रमदानको पहिलो दिन दिक्तेल–खार्मी–पाथेका सडकखण्डको करिब १२ किलोमिटर लामो सडकखण्डमा पर्ने सोल्मामा श्रमदान गरिएको हो। श्रमदान अभियानमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, वडाध्यक्ष ध्रुवविक्रम राई, विभिन्न सङ्घ/संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो।
जिल्लाको उत्तरी क्षेत्र जोड्ने उक्त सडकखण्डमा सडकमाथिबाट झरेको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने, झाडी सफा गर्नेलगायतका काम गरियो। पहिलो दिनको श्रमदानमा चारवटा ट्रयाक्टर र एउटा जेसीबी प्रयोग गरेर खाल्डाखुल्डी पुरिएको वडा नं २ सोल्माका वडाध्यक्ष राईले बताए।
Discussion about this post