बाँकेमा मंगलबार भएको सवारी दुर्घटनामा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको मृत्यु भएको छ। सुर्खेततर्फ जाँदै गरेको उनीहरू सवार कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै मंगलबार बेलुका साढे चार बजेतिर नेपालगन्जबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो।
५३ वर्षीया सञ्जु खाती खड्काको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बेलुकी ८ बजेतिर मृत्यु भएको सुर्खेतका एसपी योगेन्द्र थापाले जानकारी दिए।
पेसाले डाक्टर रहेकी सञ्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काकी श्रीमती हुन्। डम्बर उपप्रधानमन्त्री खड्काका माइला भाइ हुन्।
नेपाली कांग्रेस सुर्खेतका सभापति तथा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्ग पोखरेलले मृतक डा. सञ्जु उपप्रधानमन्त्री खड्काकी माइली भाइबुहारी भएको सेतोपाटीलाई बताए।
बाँके जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोरका अनुसार सञ्जु सवार कारका चालक गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ।
दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी कोहलपुर मेडिकल कलेजमा पुर्याएको थियो।
Discussion about this post