सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको छ ।
योजनाअनुसार नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ सहित कुल १७९ वटा देशमा नेपालीहरुले रोजगारीको लागि जान पाउने मन्त्रालयको दाबी छ । सरकारले खुला गरेपनि सबै देशबाट नेपाली श्रमिकको माग आउँछ भन्ने सुनिश्चित भने छैन । तर, कसैले माग ल्याएमा श्रम स्वीकृति दिन नरोक्ने सरकारी तयारी छ ।सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले इराकको अवस्था विगतको जस्तो नभएको भन्दै नयाँ परिवेश मूल्यांकन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने तयारी भइरहेको बताएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले दौत्य सम्बन्ध कायम भएका संसारका सबै मुलुकका लागि श्रम स्वीकृति दिन काम कारबाही अघि बढेको जानकारी दिए ।‘मन्टेनेग्रोबाट समेत नेपाली श्रमिकको माग भएको छ, किन बन्द गरिरहने ?’ सचिव अर्यालले भने,‘ हिजोको जस्तो अवस्था आज इराकमा छैन, इराकमा पुननिर्माणको कामहरु भइरहेका छन् र त्यहाँबाट श्रमिकको माग छ, आजको इराकको अवस्था मूल्यांकन गर्नुपर्यो ।’
सचिव अर्यालले जहाँ–जहाँ दौत्य सम्बन्ध कायम भएका छन्, तीब सबै देश वैदेशिक रोजगारीका लागि खुला गरिने बताए । नेपालले अहिलेसम्म १७९ देशसँग दौत्य समबन्ध कायम गरेको छ ।
तर, वैदेशिक रोजगारीका लागि १११ देश खुला भएपनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा राखिएको छ । आन्तरिक गृहयुद्धमा फसेका यी देशहरुमा पनि अब नेपाली श्रमिक पठाउने गृहकार्यमा सरकार छ ।
सरकारी घोषणाअनुसार वैदेशिक रोजगारी खुला गरेमा यीसहित ७१ वटा मुलुक एकैपटक नेपालबाट वैदेशिक रोजगारीमा जान पाइन देशमा रुपमा सूचीकृत हुनेछन् ।
Discussion about this post