कालिकोटको रास्कोट नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका-२ सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना भएको हो ।
ग ३ च ४६१० नम्बरको जीप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जानकारी दिए ।
दुर्घटनामा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मोनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको भने २२ वर्षीया रिता शाही गम्भीर घाइते रहेको उनले जानकारी दिए ।
उनका अनुसार रिता गर्भवती रहेको र रितालाई थप उपचारका लागि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ ।
जीप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जाने क्रममा जीप न्युट्रलमा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी माझीको भनाइ छ । चालकलाई नियन्त्रण लिइएको छ ।
Discussion about this post