पोखरा महानगरपालिकाले फेवाताल सिमसार क्षेत्र पुरेर बनाइएका २७० भन्दा बढी घडेरी संरचना भत्काइएको जनाएको छ । पामे क्षेत्रमा कानुनविपरीत घर बनाउने उद्देश्यले बनाइएको डीपीसी भत्काइएको महानगरले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएको हो ।
‘आवासीय प्रयोजनका लागि वर्गीकरण गरिएकोबाहेक अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले कुनै पनि हिसाबले व्यवसायी रूपमा घडेरी विकसित गर्न र बिक्री गर्न पाइने छैन,’ महानगरको फेसबुक स्टाटसमा लेखिएको छ, ‘पामे क्षेत्रमा यसका विपरीत निर्माण गरिएका २७० बढी घडेरीका लागि तयार गरिएका डीपीसी महानगरपालिकाले भत्काइदिएको छ ।’
पछिल्लो एक वर्षयतामात्रै फेवाताल सिरानको सिमसार क्षेत्र पुरेर करिब ४ सय रोपनीभन्दा बढी घडेरी निर्माण भएका थिए । ०७२ सालमै विश्व रामसार सूचीमा सूचीकृत फेवाताल सिमसार क्षेत्र पुरेर धमाधम घडेरी बनिरहँदा पनि महानगरले आवश्यक कदम नचालेको भन्दै चर्को आलोचना भइरहेको छ ।
पछिल्लो एक वर्षयता सिमसार पुर्ने काम तीव्र रुपमा बढेर गएपछि कानुन व्यवसायी मनोज घर्तीमगरले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । उनको रिटमाथि अदालतले सिमसार क्षेत्र बचाउन र पूण्यप्रसाद पौडेलले तोकेको सिमांकनलाई आधार मानेर आवास निषेधित क्षेत्र घोषणा गर्न अन्तरिम आदेश दिएको थियो ।
Discussion about this post