पाँच दलीय गठबन्धनले वैशाख ३ गतेभित्र नगरपालिका र गाउँपालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको सिट बाँडफाँट गर्न जिल्ला संयन्त्रलाई निर्देशन दिएको छ।
केहीबेर अघि सम्पन्न बैठकपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘नगरपालिका र गाउँपालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको सिट बाँडफाँट गरी वैशाख ३ गतेभित्र प्रदेश संयन्त्रलाई जिल्ला संयन्त्रले सिफारिस गर्ने निर्णय गरिएको छ।’उनले जिल्ला संयन्त्रले गरेको सिफारिसअनुसार प्रदेश संयन्त्रले वैशाख ५ गतेभित्र केन्द्रलाई सिफारिस गरिसक्नुपर्ने निर्णय गरिएको पनि जानकारी दिए।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रले वैशाख ३ गतेभित्र नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँट गर्न जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो।
बैठकले महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखको सिट बाँडफाँट पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने निर्णय गरिएको बताए।
महानगर, नगर र गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्यहरुको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ भित्र टुंगो लगाउने पनि दलहरुले सहमति गरेका छन्।
प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई–दुई जना प्रतिनिधि रहने प्रवक्ता कार्कीले जानकारी दिए।
उनका अनुसार प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ–आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने दलहरुबीच सहमति भएको छ।
सहमतिअनुसार सबै तहका संयन्त्रको बैठकको संयोजन सम्बन्धित तहका सभापतिले गर्ने बताइएको छ।
Discussion about this post