काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्र्याइँ नगरेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरूले उठाएका प्रश्नमाथि जवाफ दिँदै मन्त्री गुरूङले कालो धनलाई नियन्त्रण गरिने बताए।
मन्त्री गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ, बायाँ केही पनि नहेर्ने समेत स्पष्ट पारे । उनले सरकार पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा पछि नपर्ने पनि बताए ।
मन्त्री गुरुङले भने, ‘कालोधन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्नुपर्ने कुरामा दुई मत रहेन । यसको हेलचक्र्याइँ भइरहेको सन्दर्भ उठेको छ । पटक्कै हेलचक्र्याइँ गर्न खोजिएको छैन । माथि होस कि तल । दायाँ होस कि बायाँ कोही पनि पीडकलाई छोड्नु हुन्न । यदि हामी न्यायको पक्षमा उभिन्छौँ भने, यदि हामी पीडितको पक्षमा उभिन्छौँ भने माथिलाई छोड्ने, तललाई समात्ने हुँदै होइन । सरकार अहिले त्यही बाटोमा अघि बढिराखेको छ । ठूलो, सानो हामी हेर्दैनौं । अनुहार पनि हेर्दैनौं । राजनीतिक पार्टी पनि हेर्दैनौं ।’
मन्त्री गुरुङले वित्तीय अनुशासन उलंघन गर्नेहरुलाई सरकारले नछोड्ने पनि दोहो¥याए ।
Discussion about this post