राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेइमानी गर्नेहरूका लागि पार्टीको ढोका खुला नभएको बताएका छन्।
आइतबार गोकर्णेश्वरको नगर भेलालाई सम्बोधन गर्दै उनले पार्टीको ढोका इमान बोक्नेहरूका लागि मात्रै खुला हुने बताएका हुन्।
रास्वपा अर्कै पार्टीबाट प्रवेश हुनेहरूको कब्जामा गएको, माओवादी-कांग्रेस-एमालेकै जस्तो भएको भन्दै चिन्ताहरू पनि जाहेर भएको उनले बताए।
‘पार्टी अर्काको कब्जामा पर्ने भयो। हिजो माओवादीको जस्तै हुनेभयो। हिजोको कांग्रेस-एमाले जस्तै हुनेभयो। अब जो पनि छिर्ने भए, पार्टी बिगार्ने भए, पार्टीले भोट बढाउनेभन्दा घटाउने काम भयो। समितिहरू यस्तो बन्यो भनेर भन्नुभएको छ,’ उनले भने।
यसरी उनले पार्टीको ढोका बेइमान गर्नेहरूका लागि खुला नभएको बताउँदै चिन्ता नगर्न अनुरोध गरेका हुन्।
उनले केही स्वार्थीहरु पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरुलाई पार्टीमा स्थान नरहेको स्पष्ट पारे। उनले स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरुलाई पार्टीले नियालिरहेको पनि बताए।
‘…यो पार्टीमा सहभागी हुन सबैलाई ढोका खुला छ तर इमान बोकेर आउने साथीहरुलाई मात्रै खुला हो। बेइमानी छातीमा बोकेर आउनेका लागि यो ढोका खुला छैन,’ उनले भने।
‘म चिन्ता गर्ने सबै साथीहरूलाई एउटा कुरा बताउन चाहान्छु। यो पार्टीमा सहभागी हुनका लागि पार्टीको ढोका सबैलाई खुला छ। हाम्रो मनको ढोका पनि खुला छ,’ उनले भने, ‘तर इमान बोकेर आउने साथीलाई मात्रै खुला हो, बेइमानी छातीमा बोकेर आउनेका लागि पार्टीको ढोका खुला होइन।’
Discussion about this post