Khabar Samachar

देश छाडौँ कि रत्नपार्कमा गएर आत्मदाह गरौँ ? – पल शाह

258
VIEWS

अभिनेता पल शाहले बलात्कार अभियोगमा अदालतबाट सफाइ पाइसक्दा पनि आफूलाई बारम्बार दुत्कारिएको गुनासो गरेका छन्।

एक टेलिभिजन कार्यक्रममा उनले जेलका कुरा हाँसेर बोलेको तथा कार्यक्रम सञ्चालक सन्दीप क्षेत्रीले बलात्कारजस्तो संवेदनशील विषयमा पनि अट्टहाँस गरेको भन्दै सामाजिक सञ्जालमा चर्काे आचोलना भएपछि अभिनेता शाहले निराशा व्यक्त गरेका हुन्।

‘अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि मैले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिडौँ कि दुःख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवनयापन गरौँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ? कि मैले खुलमखुला रत्नपार्कमा गएर आत्मदाह गरौँ?’

उनले निराशा व्यक्त गर्दै अगाडि लेखेका छन्, ‘कानुनले तँ सही छस् भनेर ‘सफाइ’ दिएको विषय जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदोरहेछ…।’

 

पल शाहको पूरा स्टाटस

मानवीय जीवन हो- उतारचढाव हुन्छ। म नि मानव हो। मभित्र पनि मानवीय संवेदना छ। म रुन्छु, हाँस्छु। तपाईंहरू जस्तै…

ममाथि आरोप लाग्यो, मैले कानुनलाई सघाउन सम्बन्धित निकायमा पुगेँ र १ वर्ष कारागारमा रहेँ। सम्मानित अदालतबाट उक्त आरोपबाट ‘सफाइ’ पाएर म तपाईंहरूजस्तै सामान्य जीवनयापन र कर्म गर्दै आइरहेको छु। 

मलाई थाहा छ, बुझेको पनि छु- म एक सार्वजनिक व्यक्ति हुँ। मैले गर्ने हरेक गतिविधि समाजसँग जोडिएको हुन्छ। म साना-साना कुरामा संवेदनशील हुनुपर्दछ र मेरो सेन्स अफ ह्युमरले सक्नेजति म संवेदनशील बन्ने कोसिसमा छु। पछिल्लो समय कान्तिपुर टीभीबाट प्रसारित “What The Flop Show” मा मैले  अन्तरवार्ता दिएको थिएँ। उक्त अन्तर्वार्ता प्रसारण भइसकेपछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भइरहेको छ।

प्रसारित कार्यक्रममा ‘हाँसीहाँसी बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो’जस्ता आरोप लागेका छन्। 

म एक्लै यो धर्तीमा कहीँबाट उत्पत्ति भएको हैन। मेरो पनि एउटा परिवार छ। परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन्। उनीहरूमा के बित्छ होला, जहिल्यै बलात्कारीको ट्याग दिँदा? कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा? उनीहरूलाई  मानसिक, व्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पर्ला, कस्तो दाग रहला? कहिल्यै त्यो ठाउँमा आफ्नो परिवार राखेर सोच्नुभएको छ?

म स्पष्ट पार्न चाहन्छु। मेरो तर्फबाट मृत या जीवित, आरोपित होस् या अपराधी सबैप्रति मेरो सम्मान छ। म मेरो देशको कानुनलाई शिरोपर गरी कानुनलाई सघाएको मानिसले कानुन उल्लंघन या कसैको अवहेलना गर्नेबारे सोच्न सम्म सक्दिनँ।

मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिएँ। त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नुपर्ने हो र? मैले कसैको नाम नलिईकन त्यहाँभित्र मैले भोगेका/देखेका कुरा हाँसेरै सरकारसामु अपिल गर्दा पनि मैले गाली खानुपर्ने हो? म मेरा दु:खका अनुभव हाँसेर कसैसँग सेयर गर्नै नपाउने हो? मैले कसलाई मजाकको पात्र बनाएको छु? म रुँदै अन्तर्वार्ता दिनुपर्ने हो? म मेरो दु:खमा सधैँ रुनुपर्ने हो या मैले मेरा दु:खका अनुभव हाँसीहाँसी साट्न र जित्न पनि पाउँछु? धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्नसकेको छैन, मेरो जीवनमा मैले गर्नुपर्ने के हो नगर्नु पर्ने के हो? समाजका तपाईंहरु जान्ने बुझ्नेले मलाई उत्तर दिनुहोला!!!

अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि मैले निधारमा म बलात्कारी हुूँ लेखेर हिडौँ कि दु:ख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवनयापन गरौँ? मलाई पल शाह बनाएको तपाईंहरूले हो यसकारण म प्रश्न पनि तपाईंहरूसमक्ष नै गर्न चाहन्छु म के गरौँ? कसरी बाँचौ? कसरी हिडौँ? कसरी बोलौँ? कसरी खाऊँ? कसरी लाऊ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ? कि मैले खुलमखुला रत्नपार्कमा गएर आत्मदाह गरौँ?

एकवर्षे कारागार बसाइमा मैले पाएका दु:खलाई आँशुले छिपिक्क भिजाएको छु। पीडाको पहाड छ। तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नामसमेत उच्चारण नगरी दु:खलाई खुसी मुद्रामा साट्दा तपाईंहरूमा परेको असरप्रति क्षमा चाहन्छु। कानुनले तँ सही छस् भनेर ‘सफाइ’ दिएको विषय जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदोरहेछ…सबैमा माया सम्मान र धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित