एसिसी इमर्जिङ कपको उपाधि पाकिस्तानले जितेको छ। आइतबार भएको फाइनलमा पाकिस्ताले भारतलाई १ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक इमर्जिङ कपको उपाधि जितेको हो। यसअघि २०१९ मा बंगलादेशलाई हराएर पाकिस्तान पहिलो पटक च्याम्पियन बनेको थियो। त्यसपछि प्रतियोगिता यो पटक भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले भारत समक्ष ३ सय ५३ रनको उच्च लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा भारत ४० ओभरमा अलआउट हुँदै २ सय २४ रनमा समेटियो। भारतका लागि अभिषेक शर्माले ६१ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अन्य ब्याटरले भने अर्धशतकीय इनिङ खेल्न सकेनन्। पाकिस्तानका लागि सुफियन मकिमले ३ विकेट लिंदा मोहम्मद वासिम, मेरन मम्ताज,अर्सद इकबालले समान २-२ विकेट लिए। अर्को एक विकेट मुब्सिर खानले लिएका थिए।
दुबै देशका ‘ए’ टिमबिचको खेलमा पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै उत्कृष्ट सुरुवात गरेको थियो। मध्यक्रम धर्माराएपनि छैटौं विकेटका लागि अर्को शतकीय साझेदारी सम्भव भएपछि भारतले चुनौतीपूर्ण लक्ष्य पायो।
पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५२ रनको स्कोर बनाउँदा उसका लागि ताहिरले ७१ बलमा १२ चौका र ४ छक्काको सहयोगमा १०८ रनको शतकीय इनिङ खेलेका थिए। त्यसअघि ओपनर सइम अयुब र सहिबजादा फर्हानले पहिलो विकेटका लागि १ सय २१ रनको साझेदारी गरे। अयुबले ५९ र फर्हानले ६५ रनको अर्धशतकीय इनिङ खेले।
थप दोहोरो स्कोरका रुपमा ओमाइर युसुफले ३५ रन बनाउँदा मुदासिर खानले पनि ३५ रन बनाए। त्यस्तै मेहरान मुमताजले १३ रन बनाएका थिए। मोहम्मद वासिम १७ रनमा अविजित रहे। पाकिस्तानी ब्याटरसँग संघर्षरत देखिएका भारतिय बलरहरु भने प्रभावसालि प्रदर्शन गर्न असफल रहे।
भारतले समूह चरणमा पाकिस्तानलाई पराजित गरेको थियो। यसअघि इमर्जिङकपको उपाधि भारत र पाकिस्तानले समान १-१ पटक जितेका थिए। सूर्यकुमार यादवको कप्तानीमा भारतले २०१३ मा पहिलो पटक उपाधि जितेको थियो। भारतले पाकिस्तानलाईनै फाइनलमा हराएर उपाधि जितेको थियो।
त्यसपछि २०१७ र २०१८ मा श्रीलंकाले पाकिस्तान र भारतलाई हराएर उपाधि उचालेको थियो। २०१९ मा पाकिस्तान बंगलादेशलाई हराएर च्याम्पियन बनेको थियो। २०१९ पछि पहिलो पटक प्रतियोगिता आयोजना भएको हो।
Discussion about this post