नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको बताएका छन् । राजधानीको प्रज्ञा भवनमा बुधबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रचण्डले पार्टी पार्टीजस्तो नभएकाले सुदृढीकरण आवश्यक रहेको औँल्याएका हुन्।
काठमाडौं । प्रधानमन्त्री एवं (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताएका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय समितिको चौथो बैठकमा उनले माओवादी केन्द्र पार्टीजस्तो नभएको स्वीकार गरेका हुन् ।
विगतदेखि नै बेलाबेलामा आफूले माओवादी केन्द्र पार्टीजस्तो नभएको कुरा भन्दै आएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकले पार्टी निर्माण र पुनर्निर्माणको ऐतिहासिक अभियान थालनी गर्नुपर्ने बताए । नेता, कार्यकर्ताको ठूलो समूह पार्टीमा रहेकाले यो बैठकले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले पार्टी पुर्ननिर्माणका लागि ऐतिहासिक कदम चाल्न केन्द्रीय समितिका नेताहरूले जिम्मेवार भएर बहस र छलफललाई अघि बढाउनु पर्ने बताए ।
माओवादीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रम, लिएका पहलकदमी र गरिएका गतिविधिबाट नयाँ आशा जनतामा पलाएको दाबी गर्दै उनले त्यसलाई पार्टी निर्माणको अभियानमा जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याए ।
“हामीले अहिले देशको राजनीतिमा देखापरेको विभिन्न विचार, प्रवृत्तिहरूको बारेमा र हाम्रो पार्टी भित्रकै विगतका परिस्थितिहरूको सिंहावलोकन र समीक्षा गरेर आउने दिनमा एक्सनमा जान आवश्यक छ,” उनले भने, “अहिले हाम्रो पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकार, जसले सकारात्मक र रचनात्मक राष्ट्र र जनताको पक्षमा हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा नयाँ संकल्पका साथ अगाडि बढ्ने पहल गरिराखेका छौं ।”
अध्यक्ष प्रचण्डले समाजवाद स्थापना गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा निर्माण गरिएकाले बैठकले त्यसलाई अझ व्यवस्थित ढंगले अघि बढाउन ठोस धारणा तय गर्ने अपेक्षासमेत आफूले गरेको बताए ।
पार्टीको जारी केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रित हुने प्रचण्डले बताएका छन्।
आजको बैठक लाइभ गर्ने भनिए पनि बिहान बसेको पार्टीको बैठकले लाइभ नगर्ने निर्णय गरेको थियो।
Discussion about this post