Khabar Samachar

Search
Close this search box.

रास्वपाले फिर्ता गर्‍यो विवादित एम्बुलेन्स

225
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।  रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी ‘मोबाइल क्लिनिक’का रुपमा सञ्चालन ल्याएको थियो ।

रास्वपाका सभापति रवि लामिछाने चितवन– २ बाट दोस्रो पटक विजयी भएको एकसय दिनका अवसरमा साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको थियो ।  लामिछानेको सचिवालयले ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको थियो । तर, एम्बुलेन्सको रङ परिवर्तन गरी नीलो बनाउनुका साथै विशेष सूचना दिने सङ्केतसमेत हटाएर एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका प्रावधान मिचिएपछि विवाद भएको थियो ।

विवाद भएपछि मेडिकल कलेज भरतपुरले एम्बुलेन्स फिर्ता पठाइदिन पत्र लेखेको थियो । लामिछानेको सचिवालयका सीइओ हेमन्त बरालले भने, ‘१० वर्ष पुरानो एम्बुलेन्स चलाउन नमिल्ने रैछ । एम्बुलेन्सको नाममा दर्ता भएको गाडी अर्को कुनै पनि प्रयोजनका लागि चलाउन पाउँदैन भन्ने कुरा आयो । हामीलाई सहयोग गर्ने संस्थाले फिर्ता पठाइदिन पत्र लेखेपछि हामीले फिर्ता पठाइदिएका छौं ।’

२०६९ मा भारत सरकारले पुरानो मेडिकल कलेजलाई सहयोगस्वरूप एम्बुलेन्स दिएको थियो । २०६९ असार २६ गते नारायणी यातायात कार्यालयमा ना २ च ५६१६ नम्बरमा दर्ता भएको थियो । १० वर्ष पुरानो एम्बुलेन्स नवीकरण नगर्ने व्यवस्था पनि छ।  तर, लामिछानेको सचिवालयले पाँच वर्षदेखि नवीकरणसमेत नभएको एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिकाविपरीत २०८० साउन १४ गते नवीकरण गरेर गैरकानुनी रूपमा प्रयोगमा ल्याइएको थियो ।

सेतो रङको विवरणसहित दर्ता भएको एम्बुलेन्स गैरकानुनी रूपमा रङ परिवर्तन गरी प्रयोगमा ल्याइएको थियो । अहिले एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न वर्कसपमा पठाइएको बरालले बताए । बरालले भने, ‘हामीले जुन रंग परिवर्तन गरेका थियौं । त्यही रंग गर्नका लागि वर्कसप पठाइदिएका छौं । त्यसपछि त्यो फिर्ता हुन्छ ।’

उनका अनुसार नयाँ एम्बुलेन्स भाडामा लिएर आजबाटै पुनः मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ । ‘आजबाट ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स प्रयोग भएको छैन । ना ५ च १८१२ नम्बरको एम्बुलेन्स भाडामा लिएर हामीले मोबाइल क्लिनिकको सेवा आजैबाट सुरु गरिसकेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित