Khabar Samachar

एमालेमा कसैको गुट छैन, गलत प्रचार भयो : पद्मा अर्याल

201
VIEWS

नेकपा एमालेकी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीभित्र कुनै नेताको नाममा गुट नभएको दाबी गरेकी छन् ।

सोमबार रुपन्देहीमा सम्पादकहरूसँगको छलफलमा अर्यालले नेताहरू स्वयम्ले कुनै गुट नबनाएको तर केही व्यक्तिले त्यस प्रकारको हल्ला चलाएको आधारमा सञ्चारमाध्यमले त्यसलाई प्राथमिकता दिन आवश्यक नहुने बताएकी हुन् ।

‘म पार्टीले खटाएको प्रदेशको इन्चार्ज हुँ, मलाई केही जानकारी छैन, उपाध्यक्ष र महासचिवले गुट बनाएको काल्पनिक चर्चा गराइँदैछ, श्रदेय अध्यक्ष, उपाध्यक्ष, महासचिव कसैले पार्टी हित विपरीत गुट बनाउने कुरा असम्भव हो, अहिले दुई जना उम्मेदवार हुँदा २ जनाको गुट लेख्दा पछि धेरै उम्मेदवार भए कसको गुट लेख्ने नि ?’ अर्यालले भनिन् ।

उनले आफूले पनि गुट सिर्जना गर्न खोजको हल्ला सुनेको भन्दै त्यो ‘वाहियात’ भएको र कुनै पनि नेतालाई गुट सिर्जना गर्ने र संगठनलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने छुट नभएको दाबी गरिन् ।
सचिव अर्यालले अहिले प्रदेशमा आफू इन्चार्ज भएर आएको र उपाध्यक्ष एवं महासचिवले आफूसँग सल्लाह र छलफल नगरी कसैलाई अघि सार्ने वा संगठनको विषयमा निर्देशन गर्ने अधिकार नभएको बताइन् ।

‘तल्लो तहमा कोही कसैका इच्छा, आकांक्षा र स्वार्थ होलान्,त्यसमा केन्द्रीय नेतृत्वलाई जोड्ने गलत र वाहियात छ, त्यो हुनै सक्दैन’ उनले भनिन् ।

एमालेले भदौ १६ र १७ गते बुटवलमा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गर्न लागेको विषयमा नेतृ अर्यालले रुपन्देहीमा रहेका विभिन्न सञ्चार माध्यमका सम्पादकसँग अन्तर संवाद गरेकी हुन् ।

शनिवार लुम्बिनी प्रदेशका १ सय ९ वटै स्थानीय तहबाट १ सय १ जना प्रतिनिधि छनोट भएका छन् । तीमध्ये अहिलेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल पाल्पाको रामपुर नगरपालिकाबाट, केन्द्रीय सदस्यसमेत रहेका प्युठानका हरि रिजाल नौ बहिनी गाउँपालिकाबाट र प्रदेश सचिव रहेका लक्ष्मण आचार्य दाङको घोराहीबाट प्रतिनिधि छनोट भएका छन् ।

रिजाल केन्द्रीय सदस्य भए पनि उनी प्रदेश अध्यक्षमा प्रतिस्पर्धा गर्ने उद्देश्यसहित प्रतिनिधि छनोट भएपछि एमाले भित्र महासचिव शंकर पोखरेलले रिजाललाई अघि सारेका उनी निकट नेताहरुले प्रचार गरेका छन् ।

कँडेललाई उपाध्यक्ष पौडेलले अघि सारेको बताएपनि कंडेल आफैले मुख खोलेका छैनन् । उनले यसअघि अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलकै प्रस्तावमा अध्यक्ष भएकाले पार्टीले खटाएकै जिम्मेवारीमा लाग्ने बताएका छन् ।

एमालेले दोहोरो जिम्मेवारी नदिने मापदण्ड बनाएपछि प्रदेश अध्यक्ष पदका अन्य आकांक्षी प्रतिनिधि छनोटको प्रक्रियामै सहभागी नभएको तर रिजाल केन्द्रीय सदस्य पद छोड्न तयार हुँदै प्रतिनिधि छनोट भएपछि आशंका बढेका छन् ।

एमालेले पहिलो अधिवेशनबाट २ सय ५ जनाको प्रदेश कमिटीको चयन गर्दैछ । यसअघि अहिले केन्द्रबाटै बनेको कमिटीमा ६ सय १ जना छन् ।

एमालेले प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला ५ जनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रति क्षेत्र ५ जनाका दरले १ सय ३० जना र खुल्लाबाट ५ पदाधिकारीसहित १५ जना रहने गरी २ सय ५ जनाको नेतृत्व चयन गर्ने उनले जानकारी दिइन् ।

एमालेले यसअघिको प्रदेश कमिटीमा रहेकालाई आयोजक कमिटी मानेर स्वतः प्रतिनिधि गराउने व्यवस्थालाई निरुत्साहित गर्दै प्रदेश कमिटीका अध्यक्षलाई समेत आफ्नो क्षेत्रबाटै निर्वाचित भएर आउनु पर्ने बनाएको छ ।

सचिव अर्यालले शनिवार भएको प्रतिनिधि छनोटमा एमालले पार्टीले गरेको निर्देशन अनुसार महिला ३० प्रतिशत, उत्पीडित जनजातिबाट १५ प्रतिशत र युवाबाट २० प्रतिशत प्रतिनिधि छनोट भएर आएको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित