६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न एकजना चिनियाँ नागरिक भारतमा पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले सुन बरामद गरेपछि काठमाडौंबाट भागेका चिनियाँ नगरिक पेङ योङ सिन ‘आसिन’ पक्राउ परेका हुन् ।काठमाडौँमा सुन बरामद भएपछि भागेका आसिनलाई भारतीय प्रहरीले ‘जासुस’को आरोपमा पक्रेर मुद्दा चलाएको थाहा भएको छ ।साउन ४ मा सशस्त्र सीमा बलले पक्राउ गरेर उनलाई पश्चिम बंगालको सिलगुढीस्थित खोरिबारी थानालाई जिम्मा लगाएको थियो । भेपमा ल्याएको सुनबारे केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेपछि नै आसिन सिलगुढीतर्फ लागेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । सीआईबी स्रोतका अनुसार अहिले उनी सिलगुढीस्थित जेलमा छन् ।
पेङ योङ सिन हङकङबाट काठमाडौँमा सुन पठाउने लिन र विद्युत्तीय चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गर्ने समूहका नाइके चिनियाँ नागरिक दाओजिन वाङसँग निकट छन् । तस्करीको उद्गम थलो हङकङबाट ६० किलो सुन पठाउने समूहमा ५ जना मध्ये आसिन पनि रहेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।
हङकङ, नेपाल र चीन भ्रमण गरिरहने आसिनको कनेक्सन हङकङमा सुन पठाउने समूहसँग देखिएको छ । भारतीय सशस्त्र सशस्त्र सीमा बलले उनको साथबाट नेपाली पासपोर्ट र नागरिकता बरामद गरेको छ । चिनियाँ नागरिकको साथमा नेपाली पासपोर्ट भेटिएपछि भारतीय प्रहरीले उनलाई ‘जासुस’को आरोपमा मुद्दा चलाएको बताइएको छ ।
अधिकारीहरुका अनुसार आसिनले नेपालबाट नागरिकता र पासपोर्ट बनाएका छन् । ‘भारतीय प्रहरीले चिनियाँ भनेर सोधपुछ गर्दा नेपाली नागरिकता देखाएपछि उनी पक्राउ परेका हुन्’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘त्यसपछि जासुसीको आरोपमा मुद्दा चलाएको थाहा भएको छ ।’
आसिन काठमाडौँबाट भारततर्फ भागेका हुन् । उनी दाओजिन वाङ र ६० किलो सुन पठाउने समूहका अर्का सदस्य चोङ चिङ छ्वान उर्फ श्यामसँग निकट थिए ।
Discussion about this post