शनिवार सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचोक नजिक बालकलाई ठक्कर दिएको मोटरसाइकल र चालक नियन्त्रणमा लिइएको छ।
प्रहरीले गुर्भाकोट नगरपालिका–१४ गुमीका ३१ बर्षीय अर्जुन पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट कर्णाली प्रदेश ०३–००२ प ९२०३ नम्बरको मोटरसाइलक पनि नियन्त्रणमा लिएको हो।
उक्त मोटरसाइकलको ठक्करबाट शनिवार आठविस नगरपालिका–६ खिड्कीज्युलका ५ वर्षीय दिग्दर्शन पुरीको मृत्यु भएको थियो। यरिचोक नजिकको गोकुल कटेज नजिकै उक्त मोटरसाइकलले मामाको घरबाट फुपूको घर जाँदै गरेका बालक पुरीलाई ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि कर्णाली केयर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको थियो।
घटनापछि फरार रहेका चालक र मोटरसाइकललाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो।
बालकका आफन्तहरूले पीडकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए। उनीहरुले कर्णाली राजमार्गको दैलेख खण्डमामा पनि सडक अवरुद्ध गरेका थिए ।
Discussion about this post