Khabar Samachar

बालबालिकाका लागि कस्तो विद्यालय छनौट गर्ने ?

222
VIEWS

कल्पना अधिकारी । बच्चाको उमेर पुगेको छ भने सम्भव भएसम्म र आफूलाई चित्तबुझ्दो विद्यालय भएको अवस्थामा घरपायक स्थानमै बच्चालाई भर्ना गरिदिनुपर्छ । यसले गर्दा बच्चालाई विद्यालय पुर्‍याउन र घर ल्याउन समस्या हुँदैन । साथै बच्चाको रेखदेख गर्न पनि सजिलो हुन्छ ।पछिल्ला समयमा कतिपय सामुदायिक विद्यालयहरुले शिक्षण सिकाइको गुणस्तरमा उल्लेख्य सुधार गरी संस्थागत विद्यालय भन्दा अब्बल साबित हुँदै आएका छन् । तर, विद्यार्थी संख्या कम भएको कारण बाट सामुदायिक विद्यालयहरु बन्द हुने मात्र नभएर शिक्षक दरबन्दी कटौती, प्रधानाध्यापलाई कार्वाही आदीको डरले गर्दा भर्ना बृद्धिका लागि घरदैलो लगायतका कार्यक्रम आयोजना गरेको पाइन्छ । संस्थागत विद्यालयहरुको विज्ञापनीय प्रतिस्पर्धाले गर्दा राम्रो विद्यालय छनोट गर्न अभिभावकलाई चुनौती बनेको छ । कुन विद्यालयमा आफना छोराछोरी पढाउने भन्ने बारे अभिभावकले धैर्यता र बुद्धिमत्तापूर्वक निर्णयमा पुग्न केही कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

मानवीय र भौतिक स्रोतसाधानको उचित व्यवस्थापन भएका विद्यालय नै गुणस्तरीय शिक्षाका लागि प्रभावकारी मानिन्छन्। भवन कक्षाकोठा, फर्निचरको पर्याप्तता, शैक्षिक सामग्रीहरुको उपलब्धता र शिक्षण सिकाईमा प्रयोग, सुरक्षित र स्वस्थकर विद्यालय परिसर र खेल मैदान, स्वस्थकर खानेपानी र छात्र, छात्राको लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था, पर्याप्त खेलकुदका सामाग्री र प्रयोगको, अतिरिक्त क्रियाकलापको आयोजना र प्रतिष्पर्धामा उपलब्धीको अवस्था, विषयगत प्रयोगशाला र पुस्तकालयको अवस्था आदी भौतिक सुविधा अन्तरगत पर्दछन् ।

घरभन्दा टाढाको विद्यालयमा भर्ना गर्दा बच्चालाई आउजाउ गर्न गाह्रो हुन्छ । विद्यालयको गाडीमा लामो यात्रा गर्नुपर्दा थकित हुन्छन् । सुरक्षाको दृष्टिले पनि यो सही हुन्न । आफ्ना बच्चालाई त्यहीँ भर्ना गरिदिनुपर्छ, जहाँ उनीहरु रमाउन सक्छन् । र, कुनै किसिमको बाधा, अवरोध, दबाव, पीडा महसुस गर्न पर्दैन । शिक्षक-शिक्षिकाले पनि बच्चाको मनोविज्ञानअनुसार उपयुक्त व्यवहार गर्ने हुनुपर्छ । यसका लागि विद्यालयमा भर्ना गर्नुअघि अभिभावकले त्यहाँ वातावरण, शिक्षण विधि, सेवा सुविधा, भौतिक पूर्वाधार सबै हेर्नुपर्छ ।

कति विद्यालयका कोठा साँघुरा र चिसा हुन्छन् । पर्याप्त खेल्ने ठाँउ हुँदैन । त्यस्तो ठाउँ बच्चाका लागि उपयुक्त हुँदैन । हामीमध्ये धेरैले आफ्ना बच्चाको शिक्षा-दिक्षाको लागि छुट्टै पैसा जोहो गरेका हुँदैनौं । त्यसैले हामी बच्चालाई भर्ना गर्नुअघि त्यसको शुल्कबारे जानकारी लिन्छौं र आफ्नो बजेट अनुसार शैक्षिक शुल्क मिल्दो भएको अवस्थामा नै उक्त विद्यालयमा भर्ना गरिन्छ ।

अरुको देखासेखीमा वा हौसिएर चर्को शुल्क लाग्ने विद्यालयमा भर्ना गर्नु ठीक हुन्न । आफ्नो बजेटअनुसार उचित विद्यालयमा भर्ना गरिदिनु उपयुक्त हुन्छ । किनभने चर्को शुल्क बुझाउँदैमा त्यहाँको शैक्षिक गुणस्तर राम्रो हुन्छ भन्ने छैन । कति विद्यालयले विभिन्न शीर्षकमा शुल्क असुल्छन् । त्यो शुल्क के प्रयोजनको लागि हो भन्ने कुरा बुझ्नुपर्छ । छोराछोरीलाई विद्यालयमा भर्ना गरेर मात्रै अभिभावकको दायित्व पूरा हुँदैन । त्यसपछि पनि उनीहरुले विद्यालयमाथि निगरानी राख्नुपर्छ, शिक्षक-शिक्षिकासँग सम्बन्ध विस्तार गर्नुपर्छ । आफ्ना छोराछोरीलाई पढाउने शिक्षक एवं प्रशासकसँग सम्वन्ध विस्तार गर्नुपर्छ । उनीहरुसँगको नियमित सम्पर्क र आत्मीय व्यवहारले सम्वन्ध विस्तारमा सहयोग मिल्छ । उनीहरुसँगको राम्रो सम्वन्धले आफ्ना छोराछोरीको पढाइमा टेवा पुग्छ । आफ्ना छोराछोरीले कसरी पढिरहेका छन्् भनेर नियमित अवलोकन-मूल्यांकन गर्नुपर्छ । पढाइएका कुरालाई आफ्ना छोराछोरीले कसरी ग्रहण गरिरहेका छन्, उसको व्यवहारमा कस्तो परिवर्तन आइरहेको छ भन्ने पनि बुझ्नुपर्छ । विद्यालयमा बच्चा भर्ना गरिदिएपछि त्यससँगै अभिभावकले पनि आफ्नो सहभागिता बढाउनुपर्छ । विद्यालयमा हुने कुनैपनि गतिविधिमा आफ्ना बच्चालाई हौसला दिनका लागि उपस्थित हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित