Khabar Samachar

सामाजिक सद्‍भाव बचाउन संयमता अपनाऊँ – पूर्वराष्ट्रपति भण्डारी

203
VIEWS

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक एकता र सद्भाव कामय राख्न आग्रह गरेकी छन् । शुक्रबार एक सन्देश जारी गर्दै नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुनेगरी देशका कतिपय स्थानहरूमा भइरहेका क्रियाकलापप्रति धैर्य धारण गर्न र संयम अपनाउन आग्रह गरेकी छन् ।

समाजमा शान्ति खलबलिने तथा प्रचलित कानूनको पालनामा प्रतिकूल असर पर्नेगरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झूटा समाचारको समेत उपयोग भइरहेकोमा ध्यानाकर्षण जनाएकी छन् ।

सन्देशमा भनिएको छ, ‘नेपाली समाजको धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई हामीले देशको सौन्दर्य र सम्पदाका रूपमा आत्मसात गर्दै आएका छौं । यही विविधता बीचको एकता, आपसी सद्भाव एवं सहिष्णुता नै हाम्रो राष्ट्रिय शक्ति हो । हाम्रो संविधानले पनि ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनी नेपाल राष्ट्रलाई परिभाषित गरेको छ । यसरी संविधानले सबै नेपाली जनतालाई सम्मान र समानताको अधिकार प्रदान गरेको हामी सबैमा विदितै छ ।’

सबै नागरिकलाई आ-आफ्नो धर्म, संस्कृति र परम्पराको निर्वाध पालनाका लागि संविधान, कानून र राजनीतिक संरचनाले पर्याप्त स्थान दिएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले एक-अर्काको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई सम्मान गर्ने ऐतिहासिक कालदेखिको हाम्रो असल परम्परालाई थप सुदृढ तुल्याउन आवश्यक भएको बताएकी छन् ।

‘जातीय र धार्मिक सद्भाव कायम राखेर मात्र समाजमा सबै नागरिकको सुरक्षा एवं सम्मानको प्रत्याभूति दिन सकिन्छ । हामीलाई हाम्रै देशको माटोमा विकास भएका जनक, बुद्ध, वैदिक, शैव तथा प्रकृतिपूजक सभ्यताहरूले यही शिक्षा दिंदै आएका छन् । आजको घडीमा हामी सबैले हाम्रो सभ्यताका मार्गदर्शनलाई गहिरो गरी आत्मसात गर्नसक्नुपरेको छ’, उनको सन्देशमा भनिएको छ।

कुनैपनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई नेपालको पहिचान र प्रगतिको आधारशीलाका रूपमा रहेको जातीय, धार्मिक एवं सामाजिक सद्भावलाई जोगाउन फेरि एकपटक एकताबद्ध बन्न आवश्यक रहेको औंल्याएकी छन् ।

सन्देशमा भनिएको छ, ‘हामी एउटा यस्तो राष्ट्र निर्माणका लागि कटिबद्ध छौँ, जहाँ प्रत्येक नागरिकले आफूलाई सम्मानित र समग्रताको अभिन्न अङ्गको रूपमा स्वीकार गरिएको महसुस गरुन् । सुदृढ राष्ट्रिय भावना र सद्भावप्रतिको हाम्रो प्रतिबद्धताले नै हामीलाई निरन्तर अगाडि बढ्न मार्गनिर्देशन गर्नेछ भन्ने विश्वाससहित सबैमा सामाजिक एकता, जागरण र पहरेदारीका लागि हार्दिक अपील गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित