असोज २९ गतेबाट दसैंको लागि नयाँ नोट साट्न पाइने भएको छ। राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै उक्त दिनदेखि नयाँ नोट साटिने उल्लेख गरेको छ।
दसैंको लागि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रूपैयाँ सटही सुविधा दिने भएको छ। सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक/एक बण्डल नयाँ नोट पाउने भएका हुन्। दसैंको लागि मात्रै राष्ट्र बैंकले करिब १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ।विगतका दसैंहरूमा सात/आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो। यसपटक क्युआर कोडमार्फत् रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले जानकारी दिए। हाललाई यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै प्राप्त हुनेछ।
यसरी प्रणालीबाट बाहिरिएको नयाँ नोटहरू करिब पाँच वर्षमा पुराना भएर राष्ट्र बैंक नै फकिन्छ। आर्थिक वर्ष २०७८/७९ मा मात्रै राष्ट्र बैंकले ४ अर्ब ४५ करोड रूपैयाँ बराबरका पुराना नोट जलानको लागि पठाएको थियो। पछिल्लो समय राष्ट्र बैंकले पुराना नोटबाट खाना बनाउन प्रयोग हुने ब्रिकेट समेत बनाएर बिक्री गर्ने गरेको छ।
Discussion about this post