नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार काठमाडौंमा तालमेल भइसकेकाले सबैलाई मिलाएर जाने बताइरहँदा पर्सामा पाँच दलीय गठबन्धन फुटेको छ।
पर्सास्थित नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको जिल्ला कार्य समितिले गठबन्धन गरेर वैशाख ३० को चुनावमा जान नसकिने भन्दै एक्ला एक्लै प्रतिस्पर्धा गर्ने निर्णय नै गरेका छन्।
दुवै दलका नेताहरुले स्थानीय नेता कार्यकर्ता र मतदाताको मनोभावनाको कदर गर्दै अलग अलग चुनावी प्रतिस्पर्धामा जाने निर्णय लिएका हुन्।
‘स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले स्थानीय नेता र कार्यकर्ताहरूको मनोभावनाको कदर गर्दै हामी दुवै दलले छुट्टाछुट्टै १४ वटै स्थानीय तहमा मित्रवत प्रतिस्पर्धा गर्न सहमत भएका छौँ’, संयुक्त हस्ताक्षरित पत्रमा भनिएको छ।
यसअघि वीरगञ्ज महानगरपालिकामा जसपालाई मेयर दिने समाचार सार्वजनिक भएलगत्तै पर्सा कांग्रेसले असहमति जनाएको थियो।
यसअघिको निर्वाचनमा केही प्राविधिक कारणवश थोरै मतान्तरले पराजित हुनुपरे पनि यसपटक कुनै अवस्थामा नछोड्ने अडान कांग्रेसका नेताहरुले लिएका छन्।
पर्सामा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिसकेको छ। जिल्लाका प्रवक्ता रमेश पाण्डेयले विज्ञप्ति जारी गर्दै वीरगञ्ज महानगरपालिकासहित अन्य १३ वटा स्थानीय तहमा कुनैपनि दलसँग गठबन्धन नगर्ने पार्टीको बैठकले निर्णय गरेको बताएका थिए।
जिल्लामा कांग्रेस सशक्त रहेको र एक्लैले अरुलाई हराउन सक्ने सभापति जनार्दन सिंह क्षेत्रीले बताए।
‘गठबन्धन नहुनुपर्ने कुरा उठिरहेको छ। हामी आफैमा सशक्त छौँ’, उनले भने, ‘तर पनि केन्द्रले अझै छलफल गरिरहेको छ। कांग्रेसलाई नराम्रो हुने निर्णय हुने छैन।’
मधेश प्रदेशमा देउवाका विश्वास केन्द्रीय सदस्य रमेश रिजाल पनि गठबन्धनको पक्षमा छैनन्।
गठबन्धन गरे कांग्रेसलाई उल्टै घाटा भएर लामो समयसम्म क्षति भइरहन सक्ने रिजालले बताएका छन्।
Discussion about this post