आईसीसी एकदिवसीय विश्वकपको बुधबारको खेलमा अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेलले केवल ४० बलमा एक सय रन बनाएको भन्दै महान् भारतीय क्रिकेटर सुनिल गावस्करले उनको प्रशंसा गरेका छन् । गावस्करले एकदिवसीय विश्वकपमा सबैभन्दा कम बलमा शतक पुरा गरेकोमा म्याक्सवेललाई बधाई पनि दिएका छन् । अलराउन्डर म्याक्सवेलले बुधबार नेदरल्यान्ड्सविरुद्धको खेलमा केवल ४० बलमा शतक पुरा गरेका थिए । उनले ४४ बलमा एक सय ६ रन बनाएका थिए । त्यो खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि तीन सय नौ रनको कीर्तिमानी जित हासिल गरेको थियो । आफ्नो समयका चर्चित क्रिकेटर गावस्करले समयसँगै क्रिकेटमा आमूल परिवर्तन आएको धारणा पनि व्यक्त गरेका छन् । ‘हाम्रो समयमा म ४० बल खेलेर बल्ल खाता खोल्थेँ । आज म्याक्सवेलले ४० बलमा शतक नै पुरा गरेका छन् । यसका लागि म उनलाई बधाई दिन चाहन्छु । वास्तवमै क्रिकेटमा व्यापक परिवर्तन आएको छ,’ ७४ वर्षीय गावस्करले भनेका छन् । म्याक्सवेल एकदिवसीय विश्वकपमा क्रिकेटमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने अस्ट्रेलियन ब्याट्सम्यान पनि बनेका छन् । गावस्कर आफ्नो समयमा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै बढी बलको सामना गरी निकै कम रन बनाउने ब्याट्सम्यानका रूपमा चर्चित थिए ।
Discussion about this post