Khabar Samachar

नेपालगन्जमा हिन्दू दिदीबहिनीको हातबाट मुस्लिम दाजुभाइले लगाए भाइटीका

210
VIEWS

 

बाँकेको नेपालगन्जमा तिहाको दिन मुस्लिम समुदायका अगुवाले आफूले मानेका दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन्। बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले आज हिन्दू धर्मलाई अनुशरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन्।

धार्मिक सद्‌भाव कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको प्रवेजले बताए। उनले दिदी माया थापा र बहिनी मीना तुलाधरको हातबाट झण्डै दुई दशकदेखि भाइटीका लगाइरहेको बताए।

‘म आफू ३५ वर्षको हुँदादेखि नै दिदीबहीनीको हातबाट भाइटीका लगाउँदै आइरहेको छु। अहिले म ५४ वर्षको भएँ। यो सम्बन्ध केवल सामाजिक सद्‌भावको मात्र नभई दिदीभाइ र दाजुबहिनीबीचको प्रेमको सम्बन्ध पनि हो।’

सिद्धिकीलाई भाइटीका लगाउन दिदी माया र बहिनी मीना नेपालगन्जस्थित बौद्धगुम्बा टोलमा रहेको सिद्धिकीको घरमा गएका थिए।

सामाजिक अभियानकर्मी सिद्धिकी पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको बताउँछन्।

‘हिन्दूले मुस्लिमको चाडलाई मनाउँछन् र मुस्लिमले पनि हिन्दूको चाडपर्वलाई हर्षोल्लासका साथ हामी यसैगरी मनाउँदै आइरहेका छौँ’, उनले भने, ‘दुवै समुदाय एकअर्काको पर्वमा सहभागी हुने र मनाउने यहाँको परम्परा बनिसकेको छ।’

सिद्धिकी वर्षाैंदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मानेर रमाउने गरेका छन्।

त्यसैगरी बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले पनि आफूले मानेको बहिनीको हातबाट भाइटीका लगाएर तिहार हर्षोल्लासका साथ मनाएका छन्।

उनले बहिनीको हातबाट भाइटीका लगाएको तस्बिर आफ्नो आधिकारिक फेसबुकमा ‘ह्याप्पी तिहार’ भनेर पोस्ट गरेका छन्। उनले दसैंँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको बताए।

‘हामी सद्‌भावको सहरमा छौँ। यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो। यहाँ मुस्लिमले हिन्दूको मात्र नभई हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ’, उनले भने, ‘मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनदेखि नै सम्मान छ।’

उनले अघि भने, टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरू खुसी हुँदा मलाई पनि खुसी मिल्छ, भने त्यो खुसीमा हामी अवश्य सहभागी हुन्छौँ र हुनैपर्छ।’

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व इद, बकरइद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उनीहरूसँग रमाउने गरेको बताए। बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउने गरेको उनको भनाइ छ।

तिहारको अवसरमा भाइटीकाको दिन मुस्लिम धर्मगुरू मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई शुभकामना दिएका छन्। दुवै समुदायका धर्म गुरूले एकता र सद्‌भावका लागि संयुक्त रूपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित