Khabar Samachar

टिकटक बन्द हुनुका १० प्रश्न र जवाफ

223
VIEWS

नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात् त्यसबारे राष्ट्रियस्तरमा बहस भइरहेको छ। नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहस स्वाभाविक मात्र नभएर स्वागतयोग्य पनि छन्।

लोकतन्त्रको सुदृढीकरण र विकासका निम्ति यस्ता बहस भइरहनेछन् र राज्यले खुला हृदयले स्वागत गरिरहनुपर्छ। यो आलेख टिकटक प्रतिबन्ध गर्नुपर्नाका कारण एवं प्रतिबन्धपछि देशव्यापी रूपमा उठेका प्रश्न र जिज्ञासामा केन्द्रित रहनेछ, जसबाट हरेक लोकतान्त्रिक राज्य कसरी राज्य, राज्यका नागरिक र समाजप्रति उत्तरदायी रहन्छ भन्ने कुराको बोध गर्न सजिलो हुनेछ।विश्व सन् १९८० पछि सूचना–प्रविधिमा अभ्यस्त हुन थालेको भए पनि नेपालले आधुनिक प्रविधिको प्रयोग गर्न थालेको लामो इतिहास छैन। २०६२/६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले सूचना–प्रविधिमा विशेष चासोका साथ पहल लिएको थियो, जुन मन्त्रिपरिषद्‌मा सूचना तथा सञ्चारमन्त्री थिए- माओवादी नेता कृष्णबहादुर महरा। अर्थात् सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा प्रवेश गरेको माओवादीका निम्ति विशेष रूचि र चासोको विषय थियो–सूचना प्रविधि।

किनकि १० वर्षे जनयुद्धमा माओवादी स्वयंले नवीनतम प्रविधिहरूको विकास र उपयोगमा जोड मात्र दिएन, पार्टी अध्यक्ष प्रचण्डले आफ्नो हरेक दस्तावेजमा सूचना–प्रविधिमा आएको अभूतपूर्व क्रान्तिको आत्मसात् गर्दै नयाँ जनवाद हुँदै समाजवादको आधार तयार पार्नुपर्नेमा जोड दिनुहुन्थ्यो। यसको अर्थ हो– प्रारम्भदेखि नै माओवादी प्रविधिमैत्री थियो।

पछिल्ला १५ वर्षमा नेपालले सूचना–प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण फड्को मारेको छ। यस अवधिमा छापा तथा विद्युतीय सञ्चारमाध्यममा गुणात्मक विकास भएको छ। आमसञ्चार यति शक्तिशाली क्षेत्र भएको छ, जो आफैँले आफ्ना लागि समाचार उत्पादन, प्रसारण र वितरण गर्छ। सामाजिक सञ्जालका धेरै प्लेटफर्ममा नेपालीहरू अभ्यस्त छन्।

यस्ता सञ्जालले पहुँचको अभावमा लुकेका प्रतिभा प्रस्फुटन गराएका छन्, अन्यायमा परेका नागरिकका आवाजले राष्ट्रिय महत्त्व पाएका छन्। उपचार नपाएका कैयौँ नेपालीलाई सहयोगको राम्रो आधार तयार भएको छ। मानिसहरूले कम खर्चमा आफूले पढ्न/सुन्न/हेर्न चाहेको सामग्री सुलभ रूपमा प्राप्त गरेका छन्। बलियो सामाजिक सञ्जाल स्थापित गर्न सहयोग पुगेको छ।

देश/विदेशमा रहेका आफन्त र साथीबीच सघन सम्बन्ध र अन्तरक्रिया कायम भएको छ। विभिन्न शिक्षाप्रद सामग्रीको उपलब्धताले मानिसले बहुआयमिक ज्ञान हासिल गर्ने अवसर प्राप्त भएको छ। नीति-निर्माता र राज्य सञ्चालकहरूलाई नागरिक तहबाट खबरदारी गर्ने राम्रो माध्यम बनेको छ, आदि। सूचना–प्रविधि र सामाजिक सञ्जालका बहुआयाम छन्, जसले व्यक्ति, समाज, राष्ट्र र सिङ्गो विश्वलाई अगाडि बढ्न उत्प्रेरित गरिरहेका छन्।

तर, यति धेरै सबल पक्ष हुँदाहुँदै पनि पछिल्लो समय नेपाली समाजमा सामाजिक सञ्जालको दुरूपयोग बढ्दो छ। साइबर अपराधका नयाँ–नयाँ आयाम र तरिका सतहमा आएका छन्। नेपाल प्रहरीमा दर्ता भएका उजुरी र तिनको प्रकृति हेर्दा राज्यले जिम्मेवारीपूर्वक नियमन नगर्ने हो भने हाम्रो भविष्यमाथि खतराको बादल मडारिँदै छ। यसतर्फ हामी सबै चनाखो र गम्भीर बन्नैपर्छ। नेपालमा सञ्चालित सबै सामाजिक सञ्जाल र एपका गुणदोष दुवै छन्। युट्युब, फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा पनि पारिवारिक र सामाजिक मर्यादा विपरीतका धेरै सामग्री छन् । तिनको समेत नियमन जरुरी छ।

तर, आजको सन्दर्भमा सबैभन्दा धेरै दुरूपयोग टिकटकको देखिएको छ। त्यसको नियमनका लागि राज्यको तर्फबाट पर्याप्त गृहकार्य र तयारी गरिएको देखिन्छ, यद्यपि नियमन सम्भव भएन। त्यसैले सरकार तत्कालका लागि टिकटक बन्द गर्ने र अरू सामाजिक सञ्जाल मर्यादित बनाउन नियमन गर्ने निष्कर्षमा पुग्यो। आजको यथार्थ यही हो।

टिकटकमा प्रसारित सबै सामग्री खराब छैनन्। त्यो कुरा प्रयोगकर्ताको ज्ञान, विवेक र सभ्यतामा समेत निर्भर रहन्छ। टिकटकका माध्यमबाट नयाँ प्रतिभा सतहमा आएका छन्, उनीहरूले सामाजिक जीवनमा राम्रो प्रगति गर्ने आधार पाएका छन्। विभिन्न ज्ञानवर्धक सामग्री बनाउने बौद्धिक जमात पनि यहाँ क्रियाशील छ। उनीहरूले टिकटकलाई कसरी प्रगतिका निम्ति उपयोग गर्ने भन्नेखालका शिक्षा र सन्देश प्रसारण गरिरहेका छन्। यो सकारात्मक पक्ष हो।

तर, टिकटकबाट चर्चा कमाउने र आयआर्जन गर्ने नाममा जे–जस्ता सामग्री प्रसारित हुने गरेका छन्, ती गम्भीर प्रकृतिका छन्। श्रम, उत्पादन, रोजगारी र सेवा क्षेत्रमा हुनुपर्ने युवा जनशक्तिको सम्पूर्ण ध्यान टिकटकमा देखिएको छ, उनीहरू टिकटकबाट आम्दानी गर्न जे–जे गर्दा ‘भ्युज’ बढ्छ, त्यस्तै कर्म गर्न अभ्यस्त देखिन्छन्।

लाइभका नाममा जे–जति विकृति देखिएका छन्, त्यसको जति नै निन्दा गरे पनि कमै हुन्छ। यस्ता सामग्री प्रसारणले सबैजसो परिवारमा तनाव र बेचैनी बढेको छ। अत्यन्तै उत्तेजक, कृत्रिम, अश्लील सामग्री प्रस्तुत हुँदै जाँदा शिक्षित र बौद्धिकहरूसमेत ‘भ्युज’ बढाउन अश्लीलताको प्रतिस्पर्धातर्फ धकेलिँदै छन्।

उनीहरूसमेत उट्पट्याङमा लालयित हुने र गहन बौद्धिक एवं शैक्षिक सामग्री, चिन्तन/मन्थन शून्यप्रायः देखिँदै छ। प्रयोगको एकाध वर्षमा नै नेपालमा यस्तो विकृति देखिएको छ, जसमा लगाम नलगाउने हो भने भोलिको परिस्थिति राज्य, समाज र परिवारको नियन्त्रणबाहिर जानसक्छ।

टिकटकमा प्रसारित भएका कतिपय सामग्री परिवार सँगै बसेर हेर्नै नसकिने खालका छन्। पूरै नग्नताका साथ प्रस्तुत हुने, सीमाबाहिरको गालीगलोज गर्ने, आफूले ढलेको सिन्को नउठाउने, केही गरिरहेका वा गर्न खोजिरहेका माथि तथानाम गाली गर्ने, आवाज, तस्बिर, भिडियो ‘इडिट’ गर्ने र तथ्य बङ्ग्याएर प्रस्तुत गर्ने, श्रम संस्कृतिलाई तिरस्कार गर्ने, पारिवारिक उत्तरदायित्वबाट विमुख हुने, घर–घरमा मनोरोगको भ्रूण रोप्ने, सभ्यता, संस्कृति र ज्ञानविज्ञानविरुद्ध प्रहार गर्ने, पारिवारिक कलह, झैझगडा, व्यक्तिको गोपनीयताको हकमा आक्रमण, बालबच्चा र ज्येष्ठ नागरिकको विकास र हेरचाहमा लापरबाहीजस्ता सयौँ अश्लीलता र विकृतिका कारण टिकटकको नियमन अनिवार्य थियो।

सामाजिक सञ्जालको दुरूपयोगले सञ्चारमाध्यम पनि दिक्क भएका छन्। हप्तौँ लगाएर अनुसन्धान गरिएका सामग्री ओझेलमा पर्ने र कुनै लगानी, परिश्रम र गुणस्तर नभएका सामग्री भाइरल हुने परिस्थितिले हरेक क्षेत्रको व्यवसायिकतामा नयाँ चुनौती थपिएको छ। कर्मठहरू गुमनाम छन्, अघिपछि युट्युबरहरू बोकेर हिँड्ने ‘स्टन्डबाज’हरू चर्चामा छन्। अस्पतालमा १८ घण्टा बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीको कुनै चर्चा छैन, एक कार्टुन चाउचाउ बाँड्न १२/१५ जना युट्युबर बोकेर हिड्ने अभियान्ताको चर्चा छ। उही दानी, उही ज्ञानी, उही त्यागीको भ्रमले समाज आक्रान्त छ। नयाँ–नयाँ रङ्गका जोगीको उदयले नागरिक रनभुल्लमा छन्।

एउटा स्रष्टाले अहोरात्र मेहेनतका साथ गीत, कथा, कविता लेख्छ। एउटा कलाकारले वर्षौं लगाएर उक्त सिर्जनामा सङ्गीत र स्वर भर्छ। एउटा उत्पादकले लाखौँ खर्च गरेर उक्त सिर्जना बजारमा ल्याउँछ। तर, एउटा बेतुकको टिकटकरले त्यसलाई पूरै बिगार्छ, सामाजिक सञ्जाल दुर्गन्धित तुल्याउँछ। बिडम्वना, त्यही युट्युबर र टिकटकर हिट हुन्छ। “लाइक”, ‘फलो’, ‘भ्युज’ उसैको बढ्छ। जसको सिर्जना हो, ऊ गुमनाम छ।

जसले सिर्जनाविरुद्ध अपराधपूर्ण धावा बोल्छ, सामाजिक सञ्जाल दुर्गन्धित बनाउँछ, ऊ हिरो छ। यो ज्यादती सभ्य समाजले सहन सक्ने कुरा होइन। टिकटकका सन्दर्भमा यति कुरा भनिसकेपछि अबचाहिँ नागरिक तहबाट उठेका केही जिज्ञासा, आलोचना र टिप्पणीप्रति ध्यान दिन उपरयुक्त ठान्छु। ती तर्क एवं टिप्पणी र सच्चाइबारे हामी सबै प्रस्ट हुन आवश्यक छ।

पहिलो : टिकटक बन्द गर्नु अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नु हो, वाक् तथा प्रेस स्वतन्त्रताविरुद्ध धावा बोल्नु हो। यो कुतर्क र आग्रहपूर्ण राजनीतिक आक्षेप हो। यिनै राजनीतिक दलहरू हुन्, जो निरङ्कुशताका विरुद्ध देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति लडे लोकतन्त्रका निम्ति, अभिव्यक्ति स्वतन्त्रताका निम्ति भूमिगत जीवन, जेलनेल र बलिदानको कीर्तिमान कायम गरे।

त्यसैले यी दल र शक्तिका नसानसामा लोकतन्त्रप्रति आस्था र विश्वास छ। हामी स्पष्ट हुनुपर्छ–अभिव्यक्ति स्वतन्त्रताको अर्थ अराजकता होइन, स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन, वाक् स्वतन्त्रताको अर्थ मनलाग्दी लागीगलोज र मानमर्दन होइन। हाम्रो संविधान र कानुनहरूले जुन व्यवस्था गरेका छन्, त्यसको मर्म र भावनाको सम्मान गर्नु नै वास्तविक अर्थमा लोकतन्त्र हो।

दोस्रो : टिकटक नेपालमा मात्र बन्द गरिएको होइन, विश्वका कैयौँ मुलुकले यसको औचित्यमा प्रश्न उठाउँदै बन्द गरिसकेका छन्। अश्लीलता, मानव बेचबिखन, गलत सूचना/अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्यलगायत कारण देखाउँदै टिकटकमा प्रतिबन्ध लगाउने देशको सङ्ख्या नेपालसमेत २७ पुगेको छ। बेलायत (२०२३), अमेरिका (२०२०), न्युजिल्यान्ड (२०२३), क्यानडा (२०२३), ताइवान (२०२२), बेल्जियम (२०२३), डेनमार्क (२०२३), पाकिस्तान (२०२०), अफगानिस्तान (२०२२), भारत (२०२०), सोमालिया (२०२३), अर्मेनिया (२०२०), अजरवैजान (२०२०), बङ्गलादेश (२०१८), इन्डोनेसिया (२०१८) इरान (२०२३), जोर्डन (२०२२), अस्ट्रिया (२०२३), इस्टोनिया (२०२३), फ्रान्स (२०२३), आयरल्यान्ड (२०२३), लाट्भिया (२०२३), माल्टा (२०२३), नेदरल्यान्ड (२०२२), नर्वे (२०२३) र अस्ट्रेलिया (२०२३) ले टिकटकमा प्रतिबन्ध लगाइसकेका छन्।

आफ्नै देशभित्र उत्पादन भएको एपलाई चीनले समेत कडा नियमन गरिरहेको छ, जहाँ चीनबाहिरका नागरिकले उही एपबाट टिकटक चलाउन सक्दैनन्। यसले प्रस्ट्याउँछ– कुन सोसल मिडिया वा एप प्रयोग गर्ने वा नगर्ने, गर्न दिने वा नदिने भन्ने कुरा सम्बन्धित मुलुकको राष्ट्रिय हित र चासोमा निर्भर रहन्छ।

तेस्रो : टिकटक नियमन गर्न सकिन्थ्यो, नियन्त्रण गर्नु गलत हो। जुन कुरा सतही विश्लेषण हो। एक हप्ताअघि गृह मन्त्रालयले टिकटकका प्रतिनिधि बोलाएर एपलाई नियमन गर्नेबारे छलफल गरेको थियो। तर, उक्त छलफलमा टिकटकका प्रतिनिधिहरूले टिकटक नियमन गर्न नसकिने, अवाञ्छित सामग्री हटाउन नसकिने, फेक आईडी नियमन गर्न नसकिने बताएपछि सरकारले बन्दको विकल्प रोज्नुपरेको हो।

चौथो : सामाजिक सञ्जालका रूपमा आउने नयाँ–नयाँ प्रविधिका मुख्यतः दुई स्वार्थ छन् : प्रविधिका माध्यमबाट प्रभाव विस्तार र व्यापारिक स्वार्थ। त्यस्ता सञ्जालहरू सञ्चालनमा आउँदा नेपालभित्र अनिवार्य दर्ता हुनुपर्छ। दर्ता नहुँदा त्यस्ता सञ्जालको अनुगमन, नियमन र करको दायरामा ल्याउने विषय कठिन हुन जान्छ। तसर्थ, भविष्यमा सामाजिक सञ्जालका सबै प्लेटफर्मलाई देशभित्र दर्ता अनिवार्य गर्नेगरी जानैपर्छ।

पाँचौँ : पारिवारिक र सामाजिक सद्‌भाव भड्काउने अरू पनि सोसल मिडिया छन्, टिकटक बन्द गरेर समस्या समाधान हुँदैन भन्ने तर्क पनि छ। यथार्थ हो– अरू सोसल मिडियामा पनि अवाञ्छित सामग्री छन्, तिनको पनि नियमन जरुरी छ। तर, सबैभन्दा बढी अवाञ्छित गतिविधि टिकटकमा हुनु र स्वयं टिकटकका प्रतिनिधिले नै नियमन गर्न सकिँदैन भन्नु नै टिकटक बन्द गर्नुपर्नाको प्रमुख कारण हो।

छैटौँ ः टिकटक बन्द गरे पनि ‘भीपीएन’बाट टिकटक चलाउन सकिन्छ भन्ने तर्क पनि छ। हो– भीपीएनबाट पनि टिकटक चलाउन सकिन्छ तर राज्यले नै गैरकानुनी ठहर गरिसकेको एप चलाउने काम पनि गैरकानुनी हुन जान्छ। त्यस्ता प्रयोगकर्ता स्वतः कानुनको दायरामा आउनेछन्।

सातौँ ः सर्वोच्च अदालतले सरकारको निर्णय उल्टाउनेछ। यो पनि सतही तर्क नै हो। नेपालको संविधानले देशको राष्ट्रिय हित, प्रतिष्ठा, स्वतन्त्रता, सामाजिक सद्‌भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा कानुन बनाएर नियन्त्रण गर्ने अधिकार प्रदान गरेको छ। टिकटक प्रतिबन्ध सामाजिक सञ्जाल नियमन निर्देशिका जारी गरेपछि मात्रै गरिएको छ। तसर्थ, यो संवैधानिक र कानुनसम्मत छ।

आठौँ : चीनको एप्लिकेसन भएकाले बन्द गरियो, भूराजनीतिक दबाबको प्रभाव हो भन्ने गरिएको छ। जुन सर्वथा गलत र पूर्वाग्रहपूर्ण विश्लेषण हो। नेपाल सरकार पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीतिका साथै दुवै छिमेकीलगायत विश्वभरिका मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध राख्दछ । यो तथ्य प्रचण्ड सरकारका १० महिनाले प्रमाणित गरिसकेको छ।

नवौँ ः सरकार मिसन २०८४ बाट त्रसित भएको प्रोपोगान्डा गर्ने कोसिस हुँदै छ, जुन भ्रामक कुरा हो। २०८४ को निर्वाचनमा कुन शक्ति र दलको हैसियत के हुन्छ भन्ने कुरा हाम्रो बाँकी ४ वर्षले निर्धारण गर्नेछ, कुनै पूर्वप्रायोजित प्रोपोगान्डाले निर्धारण गर्दैन। आज जुन दल र नेताहरू गालीगलौजको सहाराले जनमत आफूतिर तान्ने कोसिस गर्दै छन्, निर्वाचित भएपश्चात् तिनीहरू पनि परीक्षाको कसीमा जाँचिनैपर्छ।

त्यतिबेला थप प्रस्ट हुनेछ–आवेग, घृणा, उत्तेजना, गालीगलोजले राज्य चल्दैन। राज्यका कुशल सञ्चालक ती हुन्, जोसँग ज्ञान, विवेक, निर्णय क्षमता, राजनीतिक योगदान, त्याग बलिदान, सिद्धान्त, राजनीतिप्रति समर्पण छ। यो तथ्य स्थापित गर्न लोकतान्त्रिक शक्तिहरूले धैर्यतापूर्वक सङ्घर्ष गर्नेछन्।

दसाैँ : प्रविधि नवीनतम चेतनाको उपज हो, यसलाई नियन्त्रण गर्न खोज्नु पछौटेपन हो भन्ने कुतर्क पनि देखिन्छ। यो सबैभन्दा भयानक र घातक छ। प्रविधि मूलतः विकसित चेतना र विज्ञानको उपज हो। तर, प्रविधिका सबै प्लेटफर्मले नवीनतम युग र चेतनाको प्रतिनिधित्व गर्छन् भन्ने निश्चित हुँदैन।

पोर्न साइट पनि प्रविधि नै हो तर त्यसले नवीनतम चेतनाको प्रतिनिधित्व गर्दैन। क्रिप्टोकरेन्सी पनि प्रविधि नै हो तर त्यसविरुद्ध लगभग सिंगो विश्वले नै प्रतिबन्ध लगाएको छ। त्यसैले सभ्यता र समुन्नतिको आकांक्षा राख्ने मुलुकहरूले त्यसमा प्रतिबन्ध लगाएका छन्। गुण र दोषका आधारमा समर्थन र विरोध नगरी प्रविधिका खराब पक्षहरूलाई पनि नवीनतम चेतनाको उपज ठान्नु बौद्धिक टाटपल्टाइ मात्रै हो।

त्यसैले तत्कालका निम्ति सरकारले जुन कदम चालेको छ, त्यसले राष्ट्रको बृहत्तर हित, सामाजिक सद्‌भाव र पारिवारिक एकताको लक्ष्य राखेको छ। हामीसँग सामाजिक सञ्जालका धेरै प्लेटफर्म छन्, तिनको रचनात्मक, सकारात्मक, आलोचनात्मक र प्रतिफलमुखी ढङ्गले उपयोग गरौँ।

(प्रधानमन्त्रीका प्रेस विज्ञ तिमिल्सिनाको उक्त लेख राससबाट साभार गरिएको हो।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित