पाँच दलीय गठबन्धनको केन्द्रीय नेतृत्वले पोखरा महानगरपालिकाको मेयर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई दिने सहमति जुटाउनै लाग्दा पोखरा महानगरपालिकामा कांग्रेसले गठबन्धन तोडेको छ।
पोखरा महानगरको मेयरको टिकट कुनै हालतमा अरुलाई नदिने पक्षमा रहेको कांग्रेसले सत्ता साझेदार नेकपा एकीकृत समाजवादीसँग तालमेल टुटेको घोषणा गरेको हो।
बालुवाटारमा जारी पाँच दलीय गठबन्धनको बैठकमा समाजवादीले कुनै हालतमा पोखराको मेयरको टिकट चाहिने अड्डी कसेको छ।
यस्तोमा पाँच दलबीच कांग्रेसले तीन महानगर राख्ने भएको छ। यदि सहमति भएमा कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुर महानगर राख्नेछ।
त्यस्तै माओवादीले भरतपुर महानगर, एकीकृत समाजवादीले पोखरा महानगर र जनता समाजवादीले वीरगञ्ज महानगरपालिका लिनेछ।
केन्द्रको नेतृत्वले सहमति जुटाउन नसकिरहेका बेला पोखरामा महानगरमा भने कांग्रेसले एकीकृत समाजवादीसँग मित्रवत प्रतिष्पर्धा गर्ने र एक्ला एक्लै हिँड्ने निर्णय गरिसकेको छ।
कांग्रेसका जिल्ला सचिवद्वय देवेन्द्र रानाभाट र भानुभक्त ढकालले सोमबार एक वक्तव्य निकाल्दै अब समाजवादीसँग मित्रवत प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
नेकपा एकीकृत (समाजवादी) सँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो’, कांग्रेसको निर्णयमा भनिएको छ, ‘पोखरा महानगर पालिकाको प्रमुखका सम्बन्धमा सञ्चारमाध्यममा आएको हल्ला पछाडि नलाग्नु हुन पार्टीका सम्पूर्ण साथीहरुलाई हार्दिक अपील गर्दछौँ।’
एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले केन्द्रमा गठबन्धनको बैठक बसिरहेको बताउँदै कुनै निर्णय नभएको उल्लेख गरेका छन्।
Discussion about this post