नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयर पदको उम्मेद्वारमा खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ ।
पार्टीको बुटवल उपमहानगर समिति वैठकले पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको कांग्रेस नगर सचिव छाया पोखरेलले जानकारी दिए ।
सोमबार बसेको बुटवल उपमहानगर कमिटीको बैठकले नगरप्रमुखको उम्मेदवारको लागि नेपाली कांग्रेस बुटवल नगर सभापति समेत रहेका पाण्डेको मात्रै नाम सिफारिस गरेको हो।
यसअघि बुटवलको प्रमुखको लागि पाण्डेसहित क्षेत्रीय सभापति हरी लम्साल, महाधिवेशन प्रतिनिधि चुन्न प्रसाद पौडेलसहितले आकांक्षा देखाएका थिए।
नगर प्रमुखमा सिफारिस गरिएका पाण्डे २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई पराजित भएका थिए।
एमालेका शिवराज सुवेदीले २३ हजार २ सय ४९ मत पाउँदा माओवादी र राष्ट्रिय जनमुक्ति पार्टीसँगको गठबन्धनका उम्मेदवार पाण्डेले २० हजार ८ सय ५१ मत पाएर पराजित भएका थिए।
नगरको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गर्नुपर्नेछ । एकल नाम सिफारिस भएकाले मेयर पदमा कांग्रेसबाट पाण्डेको उम्मेद्वारी निश्चित भएको सचिव पोखरेलले बताए । पाण्डेसँगै कांग्रेसबाट क्षेत्रीय सभापति हरि लम्साल, व्यवसायी महेशमान सिंहलगायत पनि मेयरका आकांक्षी थिए ।
नगर प्रमुखमा पराजित भए पनि निर्वाचित भएका सुवेदीलाई टिका र माला लगाइदिएर सफल कार्यको शुभकामना दिएपछि पाण्डेले एकाएक चर्चा कमाएका थिए।
यस्तै उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता केसी,रिता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवाली सिफारिस भएका छन् ।
५ दलीय गठबन्धनमा आबद्ध दलहरुले पनि कांग्रेसबाट खेलराज पाण्डे मेयरको उम्मेद्वार हुनुपर्ने मत राख्दै आएका थिए । बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले पनि दावी गर्दै आएको छ ।
नेकपा एमालेले बुटवलबाट अहिलेका मेयर शिवराज सुवेदी, बाबुराम भट्टराई, गोपाल राना, तेजेन्द्र केसी, गोमादेवी आचार्य, सूर्यबहादुर भट्टराई, सावित्रा अर्याल र रामप्रसाद रेग्मीको नाम सिफारिस भएको छ । उपमहानगरपालिकाको हकमा कसलाई टिकट दिने भन्ने निर्णय केन्द्रबाटै हुने भएकोले कसले टिकट पाउँछ भन्ने टुंगो छैन ।
Discussion about this post