सुन्धाराको धरहरा निर्माण गर्ने कम्पनीले टुँडिखेलभित्र राखेको निर्माण सामग्री काठमाडौं महानगरपालिकाले हटाउन थालेको छ।
बुधबार साँझदेखि महानगर प्रहरी बलले धरहरा निर्माण गर्न ठेक्का पाएको रमन कन्सट्रक्सन कम्पनीले टुँडिखेल क्षेत्रभित्र राखेको निर्माण सामग्री हटाइरहेको महानगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए।
उनका अनुसार महानगरले गत असारमा दुई महिना समय तोकी सामान हटाउन निर्माण कम्पनीलाई चिठी काटेको थियो।
‘हामीले असारमै सामानहरू हटाउन रमन कन्सट्रक्सनलाई चिठी काटेका थियौं,’ उनले भने, ‘समय दिँदा पनि कम्पनीले अटेर गरेर ४० रोपनी क्षेत्रफलमा निर्माण सामग्री राख्ने र मान्छे बस्ने काम भएपछि खाली गराइरहेका छौं।’
यस्तै रमनले उपत्यकाका अन्य ठाउँहरूमा काम गर्ने कर्मचारीलाई समेत टुँडिखेलभित्र राखेको भेटिएको उनले बताए।
महानगर प्रहरी परिचालन गरी कामदारहरू बस्ने टहराहरू भत्काउने पनि काम भइरहेको महानगर प्रहरी उपरीक्षक जोशीले जानकारी दिए।
त्यहाँ बस्ने कामदाहरूले आफ्नो सामान सारिरहेको पनि उनले बताए।
उनका अनुसार टुँडिखेल क्षेत्रभित्र निर्माण कम्पनीले राखेको सामान र अस्थायी सबै संरचना आजै राती हटाइसक्ने गरी काम भइरहेको छ।
Discussion about this post