सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनमा ३० प्रोफेसनल र १७ एमेच्योर गरी कुल ४७ गल्फरले दाबेदारी प्रस्तुत गरिरहेका छन।
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत कुल आठ प्रतियोगिता मध्ये दुई प्रतियोगिता काठमाडौँ बाहिर हुनेछन। यो सिजन काठमाडौं बाहिर हुन लागेको यो पहिलो प्रतियोगिता हो। यसपछि पोखरामा सूर्य नेपाल वेस्टर्न ओपन हुनेछ।
धरानमा आजदेखि सुरू भएको ३ दिनको प्रतियोगिता ५४ होलको हुनेछ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन। यो पटक देखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई घरेलु कोर्समा प्रमुख दाबेदारको रूपमा रहेका छन। उनलाई यो सिजन सानदार सुरूवात गरेका दिनेश प्रजापतिले कडा चुनौती दिन सक्छन। सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर सदभाव आचार्यले जित्दा प्रोतर्फ दिनेश पहिलो भएका थिए। सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेश प्रजापतिले आफ्नो नाममा लेखाएका थिए। उनी लगातार दोस्रो उपाधि जित्ने कोशिशमा रहनेछन। यस्तै भुवन नगरकोटी,जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धन थापा पनि दाबेदार खेलाडी हुन। यो पटक धरानका ५ खेलाडीले घरेलु कोर्शमा प्रतिस्पर्धा गरिरहेका छन।
यो पटक प्रोफेसनल गल्फरहरूले राष्ट्रिय टिमका उत्कृष्ट खेलाडीहरू सुबाश तामाङ र सदभाव आचार्यको समाना गर्नुपर्ने छैन। सुबाश भारतीय गल्फ टुरको क्यू- स्कुलको तयारीमा रहदा सदभाव बङ्गलादेश ओपनमा सहभागी हुदैछन।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन। साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन। प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ।
Discussion about this post