Khabar Samachar

उदयपुरमा बोलेरो दुर्घटना : चालकसहित ७ जनाको मृत्यु, ९ घाइते

203
VIEWS

धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको बोलेरो जीप उदयपुरको चुहारमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ।

घटनास्थलमा उद्धारका क्रममा अर्का यात्रुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिए। यससँगै ज्यान गुमाउनेको संख्या ७ पुगेको उनले बताए।

अन्य १ जना ६–७ महिनाको बच्चासहित ३ जना महिला र २ जना पुरुषको मृत्यु भएको हो । उनीहरूको सनाखत भने हुन सकेको छैन । प्रहरीले अन्य ८ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाएको जनाएको छ । घटनास्थलमा प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ ।

स्थानीय मिलन सुभाराले आफूले जीवनकालमै यत्रो ठुलो दुर्घटना नदेखेको बताए । ‘पहिलो पटक यत्रो ठुलो दुर्घटना देखेँ । धेरै दुःखद अवस्था देखियो । यहाँको अवस्था धेरै नराम्रो छ,’ उनले भने ।

उनले आफू पनि उद्धारमा खटिरहेको जानकारी दिए । ‘म अहिले घटनास्थलमै छु । उद्धार गरेर हामीले उपचारका लागि पठाएका छौँ । ७ जनाको मृत्यु भएको देखियो । सवारी चालकको मृत्यु भएको देखियो । बोलेरोका सहचालकहरूले भने अनुसार १६ जना सवार थिए,’ उनले भने, ‘बाटो एकदमै ओरालो र घुम्ती छ । सानो सानो टर्निङबाट बोलेरो झरेको देखियो । लोड बेंसी भएको पनि हुनसक्छ । १०–१२ जना क्षमताको बोलेरोमा १६ जना चढाएको रहेछ ।’

उनले गाडी एक्कासि आफैँ पल्टिएको प्रत्यक्षदर्शीले बताएको जानकारी दिए । ‘त्यहाँ अरू कुनै पनि गाडी थिएन । डिस्टर्ब पनि भएको थिएन । एक्लै गुडिरहेको गाडी एक्कासि पल्टिएको स्थानीय बताउनुभएको छ,’ सुभाराले भने, ‘गाडीले बल्ड्याङ खाँदा दुई वटा घुम्तीको सडक पार गरेर झन्डै ६ सय मिटर तल जङ्गलमा गाडी झरेको देखियो ।’

धरानबाट भोजपुरका लागि छुटेको बोलेरो दुर्घटना भएको हो । को १ ज २५९३ नम्बरको बोलेरो बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित