Khabar Samachar

Search
Close this search box.

नेपाल एयरलाइन्सको जहाज आजदेखि साउदी अरब उड्दै

200
VIEWS

नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद–काठमाडौं नियमित व्यवसायिक उडान शुक्रबारदेखि सुरू गरेको छ। निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ९ गते (आज) देखि रियाद उडान थालेको जानकारी दिएको हो।साउदी अरबको रियादमा काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज शुक्रबार साँझ ७ः१५ मा रियादका लागि उड्ने भएको छ । निगमले वाइडबडी जहाज किन्ने बेला गरेको बजार प्रक्षेपणमा यो गन्तव्य समेटिएको थियो । तर, लामो समयसम्म निगमले अनुमति नपाउँदा उडान विस्तार गर्न भने सकेको थिएन ।

निगमका अनुसार नेपाली श्रमिकहरूको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा हाल सातामा दुई वटा उडान सञ्चालन गरिने छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादका लागि पहिलो उडान साँझ सवा सात बजे प्रस्थान गरेको पनि निगमले जनाएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  प्रेम बहादुर आलेको निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि मिति २०७८ फागुन २२ गते उडान अनुमति प्राप्त भएपछि उक्त गन्तव्यमा निगमले आफ्नो गन्तव्य विस्तार गरेको हो।

काठमाडौं–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर ३७ हजार रूपैयाँ कायम गरिएको छ। निगमका प्रवक्ता अर्चना खड्काका अनुसार हाल एकतर्फी भाडादर कायम गरिएको हो। काठमाडौं–रियाद एकतर्फी उडान अवधि छ घन्टा १५ मिनेट र रियाद–काठमाडौं उडान अवधि चार घन्टा ५० मिनेटको हुने निगमले जनाएको छ।

निगमले हाल भारतको दिल्ली, मुम्बई र बैंगलोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएको छ। नयाँ गन्तव्य साउदी अरेबियाको रियाद थपिएसँगै अब आठ मुलुकका दस वटा गन्तव्यहरूमा उडान सञ्चालन गर्ने भएको हो।

ती गन्तव्यमध्ये निगमले दिल्लीमा दैनिक दुई वटा उडान सञ्चालन गर्दै आएको छ भने अन्यमा साप्ताहिक रूपमा क्रमशः मुम्बई, बैंगलोर, क्वालालम्पुर र बैंककमा तीन–तीन वटा, दोहामा पाँच, दुबईमा पाँच, हङकङमा एक र नारितामा तीन वटा उडान सञ्चालन गर्दै आएको  छ।

त्यस्तै दोहा र क्वालालम्पुरको उडान छिट्टै दैनिक रूपमा सञ्चालन गर्ने तयारी समेत निगमको रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित