सर्भरमा समस्या आउँदा देशभरका यातायात कार्यालयहरू सेवा प्रभावित भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग, केन्द्रीय डाटा सेन्टरमा समस्या आउँदा देशभरका यातायात कार्यालयहरूको दैनिक काम कारबाही प्रभावित हुन पुगेको हो । बिहान बेलुका स्लो चल्ने तर दिउँसो लोड बढ्नासाथ सिस्टमले कामै नगर्ने समस्या देशभरका यातायात कार्यालयमा देखिएको छ । तर, प्राविधिकहरू खटाउँदा समेत समस्याको पहिचान हुन नसकेको सङ्घीय यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए ।‘विभाग अन्तर्गतका देशभरका कार्यालयहरूमा एकै पटक समस्या आउने बित्तिकै टेक्निसियनहरुलाई खटाइएको छ । उनीहरू लागिनै रहेका छन् । तर पनि समस्याको पहिचान हुन सकेको छैन,’ महानिर्देशक रिजालले रातोपाटीसँग भने, ‘सर्भरमा डाटा क्रयास भएको छ भन्छन्, सफा गर्दैछौँ ।’
यातायात कार्यालय अन्तर्गतको सम्पूर्ण डाटा तथा अनलाइन सिस्टम आन्तरिक रूपमा नै विभागले ह्याण्डिल गर्दै आएको छ । तर बेलाबेलामा आउने यस्तो समस्याले हैरान भएको महानिर्देशक रिजालको भनाइ छ ।
Discussion about this post