प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा (एमाले) दुई ठूला पार्टी मिलेर बनेकाले स्थिरतामा शंका नगर्न आग्रह गरेका छन्।
सिंहदरबारमा मंगलबार सचिवहरूलाई निर्देशन दिँदै उनले मानिसहरूले स्थिरतामा भ्रम फिँजाएको भन्दै यो सरकार ढल्ने त के ढलपलसमेत नहुने बताए।
‘मानिसहरूले हल्ला फिँजाउन सक्छन्, यताउता भन्न सक्छन्, केही गर्न सक्छन्, छटपटाएका मानिसहरूले अनेक कुरा भन्न सक्छन्, फिँजाउन सक्छन्, भ्रम फिँजाउन सक्छन्। यो सरकार पनि कतिञ्जेल हो र! भ्रम फिँजाउन सक्छन्,’ उनले भने, ‘एक जना राजनीतिक ज्योतिष पल्टिँदै थिए। कतिञ्जेल हो र भन्दै।’
उनले आफ्नो नेतृत्वमा सरकार दुई वर्ष चल्ने बताए। दुई वर्ष पुग्नुभन्दा एक हप्ताअगाडि नै प्रधानमन्त्री पदबाट राजीनामा दिने पनि बताए।
‘दुई वर्ष पुग्नुभन्दा एक हप्ताअगाडि नै राजीनामा गरिसकेको हुन्छु। राजीनामा गर्छ कि गर्दैन भन्ने कुनै द्विविधा हुँदैन। त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो। यसमा ढुक्क भए हुन्छ,’ उनले भने।
गत असार १७ गते कांग्रेस र एमालेबीच ७ बुँदे सहमति हुँदा पहिलो २ वर्ष ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने सहमति भएको थियो। त्यसतर्फ लक्षित गर्दै ओलीले उक्त सहमति पालनामा आफू प्रतिबद्ध रहेको बताएका हुन्।
साथै प्रधानमन्त्री ओलीले वर्तमान सरकार कहीँ कतै कुनै प्रकारको दाउपेचले नबनेको बताए।
‘कतै छिर्के लगाएर, के गरेर, केका लागि, यसो मन्त्री बनिहालौं, भनेर बनेको होइन, कर्तव्य बोध गरेर बनेको सरकार हो। ठूला पार्टीले बुझेर बनाएको सरकार हो। सरकार ढल्ने त के ढलपल पनि हुँदैन,’ उनले भने।
प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिरहेको स्मरण गराए।
‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन्। राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ। त्यसकारण यो
सरकारको काँधमा असाधारण जिम्मेवारी छ। यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,’ उनले भने।
उपप्रधानमन्त्री, मन्त्रीहरुलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘सफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल हुँदैन। भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिँदैन। हामीले सफलताको सङ्केत यस आर्थिक वर्षमा दिनुपर्छ। अर्काे आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ। यो सरकार एक्सन ओरिएन्टेड सरकार हो। देशका लागि केही गरौं भन्ने अठोट भएको सरकार हो यो। यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन। बिनाआग्रह मूल्यांकन गरेर निर्णयमा जान्छ,’ उनले भने।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा बमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तिव्रता दिन योजनाबद्ध काम गर्न निर्देशन दिए।
Discussion about this post