Khabar Samachar

Search
Close this search box.

कांग्रेस घोषणापत्र पागलहरूको प्रलाप हो : केपी शर्मा ओली

204
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रप्रति कटा टिप्पणी गरेका छन् ।

मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन् ।

‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित गरेको छ, त्यो कुनै राजनीतिक दस्तावेज होइन,’ उनको टिप्पणी छ, ‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन । पागलहरूको प्रलाप हो त्यो । मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन ।’

‘नेपाली कांग्रेसको घोषणापत्र भन्ने शीर्षक बाहिर छ। भित्र गाली पुराण छ। यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ’, उनले भने, ‘नेपाली कांग्रेसले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौं, नेकपा एमालेका कारणले हाम्रा सपनाहरु ध्वस्त भए। हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा?’

‘एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे। हाम्रा खोला खोल्सीहरूमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे घोषणापत्रमा लेखेको। के भएको नेपाली काँग्रेसलाई’, उनले भने, ‘एउटाले लेखेको भए पनि लेख भन्ने हुन्थ्यो। पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो। सभ्यता, शिष्टता, मर्यादाको कुरा छैन। राष्ट्रपतिलाई शेरबहादुरलाई प्रधानमन्त्री बनाउन छोडेर केपी ओलीलाई किन प्रधानमन्त्री बनाएको भनेर घोषणापत्रमा लेख्छ। राष्ट्रपतिमाथि हमला गरेको छ। नेपाली कांग्रेसलाई सन्चो छ कि छैन? एकपटक घोषणा गर्नुभन्दा अघि सोध्न मन लागेको छ।’

उनले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको र नेकपा एमालेको घोषणापत्र सारेको आरोपसमेत लगाए।

‘राजनीतिक, संवैधानिक, कानूनी कुरा गर्नुपर्‍यो नि। अधिकांश घोषणापत्र त्यस्तै छ,’ उनले भने, ‘अर्को पाटो संविधानका राम्रा कुराहरु ठाउँठाउँबाट निकालेको छ। संविधानबाट टिप्दै राख्दै गरेको छ। अर्को पक्ष पनि छ। एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ। चोर विद्यार्थीले चिट चारेझैँ।’

ओलीले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको दाबी गरे । उनको भनाइ छ, ‘त्यो घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरेको छ । त्यसलाई कुनै राजनीतिक दस्तावेज भन्न सकिंदैन । त्यसमा राजनीतिक विश्लेषण नै छैन, केही पनि छैन ।’

उनले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्ताबेज चोरेको आरोपसमेत लगाए।

घोषणा पत्रमा एमालेले गरेको विकासलाई कांग्रेसले ‘उत्ताउलो विकास’ भनेकोमा पनि ओलीले विरोध जनाए । ओलीले माओवादी केन्द्रको पनि आलोचना गरे । माओवादी पार्टी नै नभएको भन्दै त्यही कारण घोषणा पत्रसमेत ननिकालेको दाबी ओलीले गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित