अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् ।
ब्राजिलस्थित नेपाली दूतावासले पनि १७६ जना नेपाली साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता पुर्याउने दूतावासले जनाएको छ ।उनीहरूलाई आवश्यकता अनुसार मानवीय सहायता पुर्याउन आफूहरू तयारी अवस्थामा रहेको नेपाली दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो रहेका भन्दै दूतावासले भनेको छ, ‘संगठित रूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरू यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठुलो धनराशि खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ ।’
यस्तो पृष्ठभूमिमा ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको दूतावासले जनाएको छ । ‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ’, विज्ञप्तिमा भनिएको छ । पछिल्लो समय ब्राजिलले नेपाल लगायतका केही देशका राहदानी बाहकलाई प्रवेशाज्ञा लिएको भए मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ ।
Discussion about this post