Khabar Samachar

वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई ११ बुँदे स्पष्टीकरण

205
VIEWS

सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सी–चेकका लागि पठाइएको सम्बन्धमा सरकारले नेपाल वायुसेवा निगम (एनएसी)का अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरी निर्णयअनुसार सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सी–चेकका लागि पठाइएको सम्बन्धमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले ७ दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका हुन् ।

मन्त्रालयले निगममा नियमित रूपमा उस्तै प्रवृत्तिमा कमजोरी एवं लापरबाहीको पुनरावृत्ति हुनु तथा व्यावसायिक कार्यसम्पादनस्तर कमजोरी भन्दै स्पष्टीकरण पत्र प्राप्त भएको ७ दिनभित्र कमजोरीका वस्तुगत आधार, कारण र प्रमाणसहित मन्त्रालयमा पेस गर्न आग्रह गरेको छ । निगम नेतृत्वले नेपालको उपस्थिति कायम राख्दै सुरक्षित, मर्यादित, प्रतिस्पर्धी र मुनाफायोग्य बनाउनु पर्ने भएपनि अध्यक्षको लापरबाही, असक्षमता र कमी, कमजोरीको कारण निगमको साख समेत गुम्दै गएको सरकारले बताएको छ । अध्यक्ष अधिकारीलाई मन्त्रालयले ११ वटा प्रश्नको वस्तुगत आधार, कारण र प्रमाणसहित ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न आग्रह गरेको छ । मन्त्रालयले अधिकारीसँग जहाजको प्राविधिक परीक्षण, पार्टपुर्जा खरिद एवं मर्मत कार्य गराउँदा स्वस्थ प्रतिस्पर्धा, पारदर्शिता तथा गुणस्तरीयता कायम नहुने गरेको गुनासो तथा उजुरीहरू आउने गरेको भन्दै दुई जहाजको सी–चेकको लागि एमआरओ छनौट गर्दा कार्य सम्पन्न गर्न नसक्ने कम्पनीलाई किन छनौट गरेको भनि प्रश्न गरेको छ । साथै यस कार्यबाट निगमलाई पुगेको क्षतिको जिम्मेवार पनि अधिकारी नै हुनुपर्ने र दुई जहाजको सी–चेकको लागि भिसा अवधि सकिन लागेका प्राविधिक पठाएर पुनः फिर्ता बोलाई अर्को टोली पठाउने कार्यबाट निगमलाई पुगेको क्षतिबारे पनि मन्त्रालयले प्रश्न गरेको छ ।

जहाजहरूको नियति चेक जाँचको व्यवस्था नगर्नु, पर्यटक आवागमनको प्रमुख समय र चाडपर्वको समयमा उडानहरू पूर्ण क्षमतामा गर्नुपर्नेमा ग्राउण्ड गर्दा निगमलाई पुगेको घाटा, समयमा उडान नगरेबापत विभिन्न देशमा तिर्नुपरेको जरिवानाको स्पष्ट विवरण, गत वर्ष निगमको दुबई स्टेसनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट ई–मेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले ठुलो मात्रामा (करिब २ करोड) नोक्सानी व्यहोर्नुपरेको भन्ने विषयमा समेत प्रश्न गरेको छ ।

त्यस्तै मन्त्रालयले कार्यकारी अध्यक्षको हैसियतले आफ्नो जिम्मेवारी र दायित्व पूरा नगरी चरम लापरबाही र बदनियत देखिने गरी कार्यसम्पादन गरेको र निगम जस्तो ठुलो महत्त्वपूर्ण एवं संवेदनशील संस्थाको नेतृत्वमा हुनुपर्ने कार्यदक्षताको गम्भिर कमजोरी देखिएको सम्बन्धमा लिनुपर्ने कानुनी वित्तीय तथा नैतिक दायित्वको विषयमा समेत स्पष्टीकरण माग गरिएको छ ।

स्पष्टीकरण पेस गर्ने सम्बन्धी पत्रमा भनिएको छ,‘नेपाल सरकारको शतप्रतिशत स्वामित्व रहेको नेपाल वायुसेवा निगम राष्ट्रिय ध्वजावाहक वायुसेवाको रूपमा स्थापित र सञ्चालित छ । नेपाललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सञ्जालमा जोड्ने महत्त्वपूर्ण माध्यम रहेको यस निगमलाई नेपालको रणनीतिक उपस्थिति कायम राख्दै सुरक्षित, मर्यादित, प्रतिस्पर्धी एवं मुनाफायोग्य रूपमा सञ्चालित गर्नु अत्यन्तै आवश्यक रहेको नेपाल वायुसेवा निगम उडानको कमी, बढ्दो सञ्चालन घाटा तथा व्यवस्थापकीय असक्षमता, लापरबाही एवं कमीकमजोरीका कारण आफ्नो साख गुमाउँदै जानुको साथै वित्तीय हानी नोक्सानी समेत व्यहोर्नुपरेको देखिन्छ । निगममा नियमित रूपमा उस्तै प्रकृतिका कमजोरी एवं लापरबाहीहरूको पुनरावृत्ति हुनु तथा व्यावसायिक कार्यसम्पादन स्तर कमजोर हुनुको जिम्मेवारी नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ र ६ बमोजिम निगमको वस्तुगत आधार, कारण र प्रमाणसहित यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र मन्त्रालयमा प्राप्त हुनेगरी स्पष्टीकरण पेस गर्नुहुन नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार अनुरोध छ ।’

अध्यक्ष अधिकारीलाई मन्त्रालयले सोधका ११ प्रश्न: 

१.निगमका जहाजहरूको मर्मत तथा सी–चेकको कार्य नियमित एवं पूर्वानुमानयोग्य कार्य भएको हुँदा सी–चेकमा पठाउँदा सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्था र सेवा निरन्तरताको सुनिश्चित हुनेगरी गर्नुपर्नेमा पर्याप्त समय अगाडी खरिद प्रक्रिया नसक्नुको कारण सी–चेकको समयावधि थप माग्ने तथा सेवा अवरुद्ध हुनेगरी एकैपटक दुवै वटै वाइडवडी जहाज सी–चेकका लागि पठाइको सम्बन्धमा

२.जहाजको प्राविधिक परीक्षण, पार्टपुर्जा खरिद भवन मर्मत कार्य गराउँदा स्वच्छ प्रतिस्पर्धा, पारदर्शीता तथा गुणस्तरीयता हुने गरी गर्नु/गराउनुपर्ने हुन्छ । नेपाल वायुसेवा निगमका हरेकजसो मर्मत सम्भार तथा पार्टपुर्जा खरिदमा व्यापक उजुरी /गुनासो आउने गरेका छन् । यसै सन्दर्भमा जहाजको सी–चेकको लागि छनौट गर्दा के कति कारणबाट समयमा नै कार्यसम्पन्न गर्न नसक्ने कम्पनीको छनोट गरिएको हो ? यसबाट निगमलाई पुग्न गएको अपूरणीय क्षतिको जिम्मेवारी तपाईँले किन वहन गर्नु नपर्ने हो ?

३. सी–चेक कार्यको लागि वायु सेवा निगमका प्राविधिक प्रतिनिधिहरू पठाउँदा आवश्यक भिसा अवधि बाँकी रहेको यकिन गरेर पठाउनुपर्ने सामान्य विषय हो । जहाजको सी – चेकको लागि भिसा अवधि सकिन लागेका प्राविधिक टोली पठाउनु र निजहरूलाई बिचमै फिर्ता बोलाई पुनः अर्को टोली पठाउनु भन्दा संस्थागत स्मरण, कार्यप्रतिको जानकारी एवम् लागतको दृष्टिकोणले समेत निजहरूकै भिसा नवीकरण गरी निरन्तरता दिनु उपयुक्त हुनेमा त्यसो नगरी लापरबाही पूर्वक निगमलाई अतिरिक्त वित्तीय दायित्व सिर्जना हुने गरी टोली पठाउनु पर्नुको कारण ।

४. नियमित सी–चेक गराउनुपर्ने अवस्थाको जहाजलाई थप उडान समयावधि माग गराउनुपर्ने अवस्थासम्म पुर्राष्ट्रियता ध्वजावाहक निगमको नियमित र सुरक्षित उडान प्रतिको विश्वसनीयतामा गम्भीर आँच पुर्याउनुको कारण ।

५. नेपालमा पर्यटक आवागमनको प्रमुख समय तथा नेपालीहरूको महत्त्वपूर्ण चाडपर्वको सम्मुखमा जहाजहरू पूर्ण क्षमतामा सञ्चालन हुने तथा व्यावसायिक मुनाफा समेत प्राप्त हुने हुँदा रणनीतिक योजना एवम् कार्यतालिका बनाई पूर्व तयारीका साथ कार्य गर्नुपर्नेमा सो नगरी जहाजहरू ग्राउन्ड गर्दा निगमलाई पुग्न गएको अपूरणीय वित्तीय घाटा एवं निगमको साखमा पर्न गएको क्षतिको सम्बन्धमा ।

६. समयबद्ध उडान नगरे बापत निगमलाई विभिन्न समयमा विभिन्न देशमा जरिवाना समेत भएको विषयमा हालसम्म कति पटक कति जरिवाना भएको छ ? सोको विवरण र त्यसको कारण ।

७. गत वर्ष निगमको दुबई स्टेसनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट ई–मेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले ठुलो मात्रामा (करिब २ करोड) नोक्सानी व्यहोर्नुपरेको भन्ने विषयमा ।

८. निगमको चल–अचल सम्पत्तिको यकिन गरी संरक्षण गर्ने कार्यमा कुशल व्यवस्थापन गर्न नसक्नुको कारण ।

९. निगमलाई व्यावसायिक रूपमा सञ्चालन गरी नाफामा लैजानुपर्नेमा सो नगरी निगमले लिएको ऋणको साँवा व्याज समेत तिर्न नसकी हाल निगमको ऋण वि.सं. २०८० चैत्र मसान्त सम्ममा करिब  ५१ अर्ब २६ करोड पुगेको र समयमै सावा व्याज भुक्तानी नहुँदा निगमलाई थप वित्तीय दायित्व सृजना हुनुमा तपाईँको जिम्मेवारी सम्बन्धमा ।

१०. नेपाल वायुसेवा निगमले अस्ट्रेलियाको सिड्नीमा व्यावसायिक उडानको लागि प्राप्त नगर्दै कर्मचारीहरू खटाई वित्तीय व्याय भार वृद्धि गरिनुमा तापलाईको जिम्मेवारी सम्बन्धमा ।

११. ट्विनअटर जहाजहरू नियमित उडान सञ्चालनमा नल्याई निगमको आन्तरिक बजारहिस्सा अत्यन्त न्यून (०.३ प्रतिशत) बनाई निगमको साख गिराउनुको कारण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित