सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कारबाही गर्न पूर्वप्रहरी प्रमुखहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका छन्।
पूर्वप्रहरी संगठन प्रमुख मञ्चले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले आइजिपी बसन्तबहादुर कुँवर लक्षित अमर्यादित टिप्पणी गरेको भन्दै कारबाही गर्न माग गरेका छन्।
मञ्चले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ‘आइजिपीको जिब्रो थुत्नुपर्यो’ भन्ने सञ्चारमन्त्री गुरूङको अभिव्यक्ति अमर्यादित भएको भन्दै कारबाही गर्न माग गरेका हुन्।
मन्त्री गुरूङले शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आइजिपीको जिब्रो थुत्नुपर्ने भन्दै असंवेदनशील अभिव्यक्ति दिएका थिए।
‘धेरै अवरोध गर्ने त्यही क्षेत्रका मान्छेहरू हुन्। प्रहरीको आइजिपीले के भन्नु भो? म यो कानुन लागू नै गर्दिनँ भन्नुहुन्छ। त्यस्तो बोल्न पाउने कि नपाउने? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी,’ उनले भने, ‘सरकारको नीतिको, व्यवस्थाको विरूद्धमा एउटा संस्थाको प्रमुखले बोल्न पाउँदैन नि। प्रहरी ऐन ल्याउँदै ल्याउँदिनँ भन्ने टाइपको बोल्यो रे भन्ने सुनेको मैले है।’
पूर्वप्रहरी संगठन प्रमुख मञ्चले मंगलबार विज्ञप्ति जारी गर्दै गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने भनी दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाही माग गरेका हुन्।
Discussion about this post