सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेको छ ।
समितिका सभापति सूर्य थापाले सोमबार सभामुख देवराज घिमिरेसमक्ष पेश गरेको प्रतिवेदनको सुझाव तथा सिफारिस खण्डमा सहकारीको रकम अपचलनमा रविको भूमिका देखिएको उल्लेख छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि., सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि., स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि.बाट ६५ करोड ५४ लाख चार हजार पाँच सय अठतिस रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा. लि.मा प्रवाह भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।
समितिले रविलाई पनि गोर्खा मिडियामा आएको रकमबारे जिम्मेवार ठहर गर्दा तीन विषयमा स्पष्ट रूपमा बोलेको छ।
पहिलो, समितिले प्रतिनिधि सभामा बुझाएको प्रतिवेदनमा गोर्खा मिडियामा सहकारीबाट आएको ६५ करोड पैसामा रवि लामिछानेको दायित्व हुने भनेको छ।
‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ। कम्पनीका सञ्चालक वा सेयर होल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन, खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसबापत दायित्व ग्रहण गर्नु पर्दछ,’ समितिको प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने।’
दोस्रो, समितिले गोर्खा मिडिया नेटवर्कको सेयर खरिद बिक्री गर्दा किर्ते कागजका आधारमा भएको भनेको छ। ‘कम्पनीहरूमा सेयर खरिद बिक्री गर्दा कानून बमोजिम पेस हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको हुँदा भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सो बमोजिमको कर समेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न र श्वेट शेयर सम्बन्धी कानूनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई सिफारिस गर्ने।’
तेस्रो, समितिले जिबी राई र छविलाल जोशीसँगै रवि लामिछानेलाई जिम्मेवार ठहर गर्दा विभिन्न पक्षबाट विश्लेषण गरेको छ।
समितिले गोर्खा मिडिया नेटवर्क प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सोधपुछका क्रममा सहकारीबाट कम्पनीमा रकम आएको सम्बन्धमा आफूलाई जानकारी नभएको बताएको उल्लेख गरेको छ। तर रविले समितिमा सो सम्बन्धमा गितेन्द्रबाबु राई अर्थात् जिबी राईलाई थाहा हुने बताएका थिए। अर्का तत्कालीन सञ्चालक छविलाल जोशीले रकम आएको समबन्धमा गितेन्द्रबाबु राई वा रवि लामिछानेलाई थाहा भएको बयान समितिमा दिएको प्रतिवेदनमा छ। प्रतिवेदनमा उल्लेख छ : ‘….सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’सोमबार समितिले प्रतिवेदन बुझाउने क्रममा लामिछानेमाथि कानुनी कारबाहीको सिफारिस नै गर्न पुगेको छ, जसका कारण उनीमाथि गम्भीर कानुनी, नैतिक संकट खडा भएको छ ।
Discussion about this post