नेपालले घरेलु टोली अमेरिकाविरूद्धको तीन खेलको टी-२० सिरिज क्लिनस्विप गरेको छ। सोमबार बिहान भएको तेस्रो टी-२० खेलमा ८ विकेटको जितसँगै नेपालले सिरिज ३-० ले आफ्नो पक्षमा परेको हो।
सोमबार अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १८.४ ओभरमा पूरा गर्यो।
नेपालको जितमा कुशल मल्लले नटआउट ४४ रन र कुशल भुर्तेलले नटआउट ४० रन जोडे। मल्लले ३० बलमा ४ चौका र १ छक्का तथा भुर्तेलले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे।
ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ५० रन जोड्ने क्रममा ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर अनिल साहले १३ रन मात्र जोड्न सके।
ग्रान्ड प्रिएरीमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।
अमेरिकाका लागि ओपनिङ ब्याटर मुक्कामल्लले सबैभन्दा बढी ६८ रन जोडे। १८औं ओभरमा सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
अर्का ओपनर तथा कप्तान मोनाक पटेल २ रनमा एलबिडब्लूको धरापमा परे। उनलाई पनि सोमपालले दोस्रो ओभरमा सिकार बनाएका थिए।
Discussion about this post