Khabar Samachar

रवि लामिछानेको दोस्रो दिनको बयान सकियो

202
VIEWS

सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेको बुधबारको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बुधबार बिहान सवा १० बजेदेखि बयान सुरु भएको थियो । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरुको टोलीले बुधबार झण्डै ८ घण्टा बयान लिएको छ । बुधबार साढे ६ बजेसम्म सरकारी अधिकारीहरुले बयान लिएका छन् । मंगलबार ५ घण्टा बयान लिइएको थियो । मंगलबार लिएको बयान पनि बुधबार लिखित गरिएको छ । जिल्ला सरकारी कार्यालयका न्यायाधिवक्ता पौडेलले बुधबारको बयान सकिएको र बिहीबार पनि बयान जारी रहने बताए । ‘आजको बयान सकिएको छ, भोलि पनि बिहान १० बजेदेखि नै निरन्तर हुन्छ,’ उनले भने, ‘बिहीबार सक्ने प्रयासमा छौं ।’ मंगलबारको बयान सकेर निस्किने क्रममा वकिल कार्यालयबाटै लामिछानेले ‘बाघ खोरमा थुनेर स्याल हुँदैन’ भनेपछि बुधबार बयानका लागि लैजाने क्रममा प्रहरीले कडा सुरक्षा व्यवस्था र प्रहरी घेराहालेर लगेको थियो । साँझ बयान सकेर निकाल्ने क्रममा पनि प्रहरीले कडा सुरक्षा घेरा हालेरै जिल्ला प्रहरी कार्यालय तर्फ लगेको थियो । लामिछाने बुधबार पनि जिल्ला प्रहरी कार्यालयको छुट्टै हिरासत कक्षमा रहने छन् ।

बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ । २ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेको नामबाट १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगेका छन् । त्यस्तै १ करोड रुपैयाँ छुट्टै रवि लामिछाने र रोशनी गुरुङका नामबाट ग्लोबल आईएमई बैंकमा जम्मा भएको छ । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक थिए ।

प्रहरीले अहिले तयार गरिरहेको पूरक अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका छन् । गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसी अहिले फरार छन् । केसीले भौचर सदर गरेर गुरुङले गोर्खा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ । रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन् । सहकारीका अध्यक्ष ओम प्रकाश गुरुङ भने पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा रहेका छन् ।प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित