नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट सुरूवात गर्दा विराटनगर किंग्स लगातार दुई खेलमा पराजित भएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्यो।
सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा ९२ रनमै अलआउट भयो।
विराटनगरले कुनै बेला सम्हालिएर ब्याटिङ गर्न सकेन। ओपनिङ ब्याटर मार्टिन गप्टिल गोल्डन डकआउट भएसँगै विराटनगरको विकेट जाने क्रम सुरु भएको थियो।
अघिल्लो खेलमा अर्धशतक प्रहार गरेका गप्टिललाई स्कट कुगेलेइनले तेस्रो बलमै बोल्ड गरे। दुई ओभरपछि ओपनर लोकेश बम पनि २ रनमा ब्रान्डन मक्मलेनको बलमा विकेटकिपर विनोद भण्डारीबाट स्टमपिन भए।
निकोलास किर्टोनलाई कुगेलेइनले चौथो ओभरमा ५ रनमा क्याच हुँदा विराटनगरले खराब सुरुवात गरेको थियो।
राजेश पुलामी मगर १५ रनमा रनआउट भए भने बसिर अहमदले २८ बलमा २४ रन जोड्न सके। इस्मत आलम ६ रनमा बोल्ड भएका थिए। बसिर र इस्मत दुवैलाई सुदूरपश्चिमका अभिनास बोहराले एघारौं ओभरमा आउट गरे।
प्रतिश जिसी १ रन र कप्तान सन्दीप लामिछाने ८ रन जोडेर आउट भए। क्रिस सोल ९ रनमा आउट हुँदा अनिल खरेलले नटआउट १० रन बनाए।
आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दा विराटनगर निरिह बन्यो । विराटनगरविरुद्ध फराकिलो जीत निकाल्ने क्रममा अविनाश बोहोरा र स्कटले तीन/तीन विकेट लिए । ब्रान्डन, इशान पाण्डे र सैफ जैबले एक/एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १८२ रन बनाएको थियो ।
कप्तान ऐरीले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गरे । उनले १९.५ ओभरमा प्रतिश जिसीलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । अन्तिम बलमा पनि छक्का हानेपछि दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरे । उनले बाउन्ड्रीबाट ४२ रन जोडेका थिए ।
सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए ।
Discussion about this post