Khabar Samachar

Search
Close this search box.

फाइनल पुग्न कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

203
VIEWS

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय १९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको हो ।

कर्णाली याक्स बुधबार खेलिएको ‘एलिमिनेटर’ खेलमा बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको हो ।

जनकपुर बोल्ट्स भने बुधबार नै खेलिएको पहिलो ‘क्वालिफायर’ खेलमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएपछि दोस्रो ‘क्वालिफायर’ खेल्न बाध्य भएको हो ।

दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि पहिलो ‘क्वालिफायर’ को विजेता सुदूरपश्चिमसँग भिडन्त गर्नेछ ।

जनकपुर बोल्ट्सविरुद्धको खेलमा कर्णाली याक्सका माथिल्लो क्रमका ब्याट्सम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर देव खनालले २४ रन बनाए ।देवले २० बलमा एक छक्का र तीन चौका पनि हिर्काए । अघिल्लो खेलमा अर्धशतकीय पाली खेलेका अर्का ओपनर जयकिशन कोल्सावाला भने एक रनको व्यक्तिगत स्कोरमा पभेलियन फर्किए ।

तेस्रो नम्बरका ब्याट्सम्यान जिसन मक्सुद पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले ११ बलमा दुई चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान विलियम बोसिस्टो पनि १४ रनमै पभेलियन फर्किए ।

बोसिस्टोले १५ बलमा एक चौका प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान चाडविक वाल्टन पनि १३ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका अलराउन्डर गुलसन झाले टोलीको खातामा २५ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका गुलसनले केवल २० बलमा दुई छक्का र एक चौका हिर्काए ।

गुलसन दुर्भाग्यपूर्ण तरिकाले आउट हुँदै मैदानबाट बाहिरिएका थिए । जनकपुर बोल्ट्सका बलर मोहम्मद मोहसिनले फालेको बल गुलसनको ब्याटमा लागेर विकेटमा ठोक्किन पुगेको थियो ।

अर्जुन घर्ती दुई र कप्तान सोमपाल कामी पाँच रन बनाउँदै पभेलियन फर्किए । १०औँ नम्बरका ब्याट्सम्यान युनिस ठकुरीले भने टोलीको खातामा १२ रन थपे । उनले १७ बलमा दुई चौका हिर्काए ।

नन्दन यादव चार रनमा अविजित रहे । जनकपुर बोल्ट्सका बलर मोहम्मद मोहसिन, ललित राजवंशी र जेम्स निसमले दुई–दुई विकेट लिए । हर्ष थाकेर र शेर मल्लले पनि एक–एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित