देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।तराईका धेरै स्थानमा हुस्सु लाग्ने र त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोधसमेत गरेका छन् ।
मौसमविद् रोजन लामिछानेका अनुसार आज अपराह्नसम्म काठमाडौं उपत्यकामा आंशिक बादल लाग्ने सम्भावना छ । त्यसैले केही चिसो अनुभव हुने छ ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । साथै कोशी,वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ ।
Discussion about this post