प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारबिरुद्ध लागिपरेको बताएका छन्।
मंगलबार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भएपनि विरोधीहरु सपना साकार पार्न नदिन लागिपरेको उल्लेख बताएका हुन्।
‘कसरी सरकार वा आफू बाहेक अरुलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न सकिन्छ, झूटलाई फैल्याउन सकिन्छ, यस्ता कुराहरूमा उहाँहरू बहुतै सक्रिय देखिनुहुन्छ,’ उनले भने ।
विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको प्रधानमन्त्री ओलीले बताए । ‘देश विकास लागि सरकारले लिएका नीति र कार्यक्रमहरू कसरी छिटो कार्यान्वयन गर्ने भन्नेमा हाम्रो ध्यान रहेको छ,’ उनले भने ।
२०४६ सालको परिवर्तनपछि देश तीव्र विकासको क्रममा रहेको उनले बताए । ‘पछिल्लो समय सबै साथीहरूले यो कुरा अनुभव गरिरहेको कुरा हो भन्ने म ठान्छु,’ उनले भने ।
आफ्नो कार्यकालमा बनेजति पुल र सडकहरू न इतिहासमा बनेको थियो, न भविष्यमा नै बन्ने प्रधानमन्त्री ओलीले जिकिर गरे ।
Discussion about this post