भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले ‘राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमान्डर’ तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं गुण्डा नाइके भएको टिप्पणी गरेका छन्।
आज भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै गुरुङ दुर्गा प्रसाईँमाथि खनिए । सरकारले व्यवसायीको सुरक्षा गर्न नसकेको भन्दै उनले आक्रोश पोखे ।
‘हामीले वर्षेनी ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ?
यस्तै गुण्डा नाइके विगतमा धरानमा रहेको उल्लेख गर्दै गुरूङले व्यवसायीहरू त्यसबेला धरान छाडेर विराटनगर पलायन हुन पुगेको स्मरण पनि गरे।
प्रसाईंले विगत लामो समयदेखि व्यवसायीहरूमाथि धावा बोल्दै आए पनि राज्यले पुलपुल्याउँदा तीनकुने घटना घटेको र आगजनी, तोडफोड र दुई जना युवाको मृत्युसमेत हुन पुगेको गुरूङले बताए।
प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनका लागि भन्दै चैत १५ गते तीनकुनेमा प्रदर्शन थियो। प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोज्दा झडप भएको थियो। प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो भने प्रदर्शनकारीहरूले तोडफोड, आगजनी र लुटपाट गरेका थिए।
सोही दिन कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट भवनमा ढुंगा प्रहार र लुटपाट हुँदा करिब ८० लाख रुपैयाँको क्षति पुगेको थियो।
लुटपाट गर्न आएकाहरूलाई भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीले प्रतिकार गरेका थिए। उनलाई भाटभटेनीले ५ लाख नगद पुरस्कार र पाँच ग्रेड बढुवा गरिदिएको छ।
Discussion about this post